रसुवा । चीन सरकारले रसुवागढी नाकास्थित ल्हेन्दे खोलामाथि बनाउन लागेको मितेरी पुल निर्माणका क्रममा शुक्रबारदेखि नेपालतर्फ पनि काम शुरू भएको छ ।
गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सो पुल बगाएपछि पुनः निर्माण गर्ने क्रममा यसअघि नै काम शुरू भएकामा शुक्रबारदेखि नेपालतर्फ पनि पिलरको जग खन्ने काम शुरू भएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीकाअनुसार ‘जुम स्काभेटर’को सहायताले ठूलाठूला हिमपाइपमार्फत खोलाको पानी एकीकृत गरी नेपालतर्फ प्रवेश गरी चिनियाँ टोलीले शुक्रबार बिहानदेखि बेलीब्रिज अड्याउने पिलारको जग खन्ने काम सुरु गरेको हो ।
यही भदौ ३० गतेभित्र पुल निर्माणसम्पन्न गर्नेगरी दुई स्काभेटरले काम गरिरहे पनि निरन्तरको वर्षाका कारण तोकिएको समयमा निर्माण सम्पन्न नहुने प्राविधिक पक्षले जनाएको छ ।
सङ्घीय राजधानी काठमाडौँबाट नजिक पर्ने उत्तरतर्फ रसुवागढीस्थित प्रमुख नाका जोड्ने मितेरी पुल बगेसँगै सो नाकाबाट हुने व्यापार करिब ठप्प अवस्थामा रहेको स्थानीय भन्सार कार्यालयले जनाएको छ ।
यसैबीच चिनियाँ प्राविधिकले ल्हेन्दे खोलामा हिमपाइप राखी आवतजावत गर्न सहज बनाएसँगै कामको सिलसिलामा केरुङ पुगी त्यहाँ फसेका १६३ रसुवालीलाई नेपाल आउन सफल भएको प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिए । रासस