arrow

ताप्लेजुङमा बँदेलको आतंक, किसानलाई बाली जोगाउन मुस्किल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
Taplejung-hamrakura.jpeg

फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको सिदिङवा गाउँपालिका–१, कालिखोला क्षेत्रका किसानहरू बँदेललगायतका वन्यजन्तुबाट बाली जोगाउन दिनरात खटिन बाध्य भएका छन्। पाक्ने बेलामा बाली नष्ट हुने क्रम बढेपछि किसानको वर्षभरको मेहेनत संकटमा परेको छ।

स्थानीय किसान शेरबहादुर बानियाँका अनुसार यस क्षेत्रका करिब २५-३० घरपरिवार हरेक वर्ष वन्यजन्तुको आक्रमणबाट पीडित हुने गरेका छन्। “पहिले भालुले दुःख दिने गथ्र्यो, अहिले बँदेलको आक्रमण बढेको छ,” उनले भने। बँदेलले हरेक घरको दुईदेखि चार मुरीसम्मको अन्नबाली एकै रातमा खाइदिने गरेको उनको भनाइ छ।

मकै पाक्ने समयमा किसानहरू रातभर बारीमा जाग्राम बस्न बाध्य छन्। “एउटा माउ र दुई बच्चासहित तीनवटा बँदेल हरेक रात आउँछन्। मकै पूरै पाक्न नपाउँदै खाइदिन्छन्, हामीले के खानु?” उनले गुनासो गरे। बँदेलले मकैबाहेक आलु, सिमी, पिँडालु र अन्य तरकारीमा पनि क्षति पुर्‍याउने गरेको छ।

निरन्तरको क्षतिका कारण केही किसान बसाइँ सरेका छन् भने केहीले बारी बाँझो छाडेर अन्य पेसा रोजेका छन्। तर, अहिलेसम्म वन्यजन्तु नियन्त्रण वा क्षति न्यूनीकरणका लागि कुनै ठोस पहल भएको छैन।

सिदिङवा गाउँपालिकाकी उपाध्यक्ष विष्णुकुमारी (बन्दना) कडरियाले हालसम्म बाली क्षतिको कुनै औपचारिक निवेदन नआएको र निवेदन आएमा केही सहुलियत दिन सकिने आश्वासन दिएकी छन्। तर, डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पारवानका अनुसार २०८० सालको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका’ मा १६ प्रजातिका जनावरबाट क्षति भएमा मात्र राहत दिने व्यवस्था छ, जसमा बँदेल पर्दैन। यसले गर्दा किसानले राहत पाउने आधार नरहेको उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ