दशैंको अग्रिम बस टिकट बुकिङ सडकको अवस्था हेरेर मात्रै खुल्ने
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
920
Shares
तस्बिर फाइल
काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यस वर्षको दशैंका लागि अग्रिम बस टिकट बुकिङ सडकको अवस्था हेरेर मात्र खुला गरिने जनाएको छ। मुलुकका विभिन्न भागमा सडक पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको र यसले सार्वजनिक यातायातलाई उपत्यकासम्म फर्किन समय लागिरहेको कारण यस्तो निर्णय गरिएको हो।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले भने, "सडक सुधार नभएसम्म अग्रिम बुकिङ खुला गर्न समस्या छ। हामीले बुकिङ खुला गरेर पनि सवारीसाधनहरू समयमै आइपुगेनन् भने यात्रुलाई झन् समस्या हुन्छ।" यद्यपि, उनले यात्रुहरूले बसपार्कमा गएर दुई–तीन दिनअघिको टिकट लिन चाहेमा रोक नलगाइएको र टिकट अहिले पनि खुला रहेको बताए।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरूलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन सरोकारवालाहरूबीच समन्वय आवश्यक रहेको बताए। उनले गत वर्षको जस्तो ठूलो वर्षा नभए यस पटक सडकको अवस्था सहज हुने विश्वास व्यक्त गरे।
पोखरेलले सडक विभागसँग सडक सुधारका लागि छलफल भइरहेको पनि जानकारी दिए। उनले यातायात व्यवसायीलाई दशैंमा भाडादर पारदर्शी बनाउन, अनलाइन टिकटलाई प्राथमिकता दिन, सवारीसाधनको मर्मत गरेर मात्र चलाउन र सिट क्षमताभन्दा बढी यात्रु नबोक्न आग्रह गरेका छन्।
प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले दशैंका लागि यात्रुहरूको सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता जनाएका छन्।