दक्षिण सुडानका अधिकारीहरू तेलबाट कमाएको अर्बौं डलर हिनामिना भएको राष्ट्रसङ्घको खुलासा
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
2.6k
Shares
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टअनुसार, दक्षिण सुडानका सरकारी अधिकारीहरूले देश स्वतन्त्र भएपछि हालसम्म तेलबाट कमाएको २५.२ अर्ब अमेरिकी डलरमध्ये अर्बौं डलर हिनामिना गरेका छन्।
मानवअधिकार आयोगले सार्वजनिक गरेको यो रिपोर्टमा उक्त रकम स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा खर्च हुनुको सट्टा व्यक्तिगत लाभ र राजनीतिक सञ्जालमा दुरुपयोग भएको उल्लेख छ।
रिपोर्टमा भनिएको छ, “देशको लुटले गर्दा जनताले भोक, रोग र मृत्यु भोग्नुपरेको छ।”
रिपोर्टले सबैभन्दा ठूलो भ्रष्टाचार ‘ओआयल फोर रोड्स’ कार्यक्रममा भएको देखाएको छ। यस कार्यक्रमका लागि सन् २०२१ देखि २०२४ सम्म छुट्याइएको २.२ अर्ब डलरमध्ये १.७ अर्ब डलरको हिसाब छैन।
यो रकम उपराष्ट्रपति एवं सम्भावित राष्ट्रपतिका उत्तराधिकारी बेन्जामिन बोल मेलको स्वामित्वमा रहेका निर्माण कम्पनीहरूमार्फत खर्च भएको दाबी गरिएको छ।
दक्षिण सुडान सरकारले भने यो रिपोर्टमा प्रयोग गरिएको सूचना पक्षपाती रहेको भन्दै अस्वीकार गरेको छ।
यो रिपोर्ट राष्ट्रपति सल्वा कीर र विपक्षी नेता रिएक मचारबीचको सत्ता साझेदारी विफल हुने सङ्केतसँगै आएको छ। रिएक मचारमाथि देशद्रोह र मानवताविरुद्धका अपराधको आरोप लगाइएको छ, जसलाई उनका समर्थकहरूले राजनीतिक प्रतिशोध भन्दै सशस्त्र आन्दोलनको चेतावनी दिएका छन्।