arrow

श्रीलङ्काले चार प्रकारका विदेशी माछामा प्रतिबन्ध लगाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
red_fish_in_the_water.jpg
तस्बिर फाइल

कोलम्बो । श्रीलङ्काले आफ्ना नदी र तालहरूमा नकारात्मक असर पर्नबाट जोगाउन चार प्रकारका विदेशी माछाको आयात, बिक्री र ओसारपसारमा प्रतिबन्ध लगाउने भएको छ। मत्स्यमन्त्री रामलिङ्गम चन्द्रशेखरका अनुसार, यो कदम स्थानीय माछा र त्यससँग सम्बन्धित समुदायको जीविकोपार्जनको रक्षाका लागि पनि हो।

आगामी शनिबारदेखि रेडलाइन स्नेकहेड, नाइफ फिश, एलीगेटर गार र पिरान्हा माछामा पूर्ण प्रतिबन्ध लाग्नेछ। यी माछाहरू मुख्य रूपमा दक्षिणपूर्वी एसियाबाट ल्याइने गरेको बताइएको छ।

मन्त्री चन्द्रशेखरले बताएअनुसार, स्नेकहेड माछा उत्तरपश्चिम श्रीलङ्काको डेदुरु ओया तालमा फेला परेको छ, जसले त्यहाँको स्थानीय जैविक सन्तुलनमा असर पुर्याएको छ। स्थानीयहरूका अनुसार, यी माछाहरूले साना माछा र अन्य जलचरहरूलाई खाएर वातावरणमा असन्तुलन ल्याइरहेका छन्।

सरकारले यी विदेशी माछाहरू पाल्न नसकेका मानिसहरूले तालमा छाडेको हुनसक्ने आशङ्का गरेको छ। यसै सन्दर्भमा, सरकारले शनिबार स्नेकहेड माछा समात्ने प्रतियोगिता पनि आयोजना गर्ने योजना बनाएको छ।

सरकारले यस्ता माछाहरू घरमा पालिरहेका व्यक्तिहरूलाई सम्बन्धित निकायमा जानकारी गराएर ती माछाहरू सरकारी एक्वेरियममा बुझाउन पनि अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ