arrow

ऐतिहासिक टक्सार बजारका सम्पदाहरू संरक्षणको अभावमा जीर्ण बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
taksar-bazar-sampada.jpg

भोजपुर। विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा नेपालमा एक मात्र टक काट्ने स्थलका रूपमा स्थापित भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले आफ्ना ऐतिहासिक सम्पदाहरूको संरक्षण अभावमा ओझेलमा पर्दै गएको छ। यस सहरलाई 'दोस्रो मिनी पाटन' पनि भनिन्छ, जहाँ २० भन्दा बढी धार्मिक तथा सांस्कृतिक स्थलहरू छन्।

टक्सारका मठमन्दिरहरू, जस्तै: ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर र गणेश मन्दिर, उचित रेखदेख र व्यवस्थापन नहुँदा जीर्ण बन्दै गएका छन्। स्थानीय सानुकाजी शाक्यका अनुसार काठमाडौं उपत्यकाको पाटनमा रहेका जत्तिकै महत्त्व बोकेका यी सम्पदाहरूको जीर्णोद्धार हुन सकेको छैन, जसले गर्दा पूजाआजा गर्न आउने भक्तजनको सङ्ख्या पनि घट्दै गएको छ।

स्थानीय किशोर ताम्राकारले टक्सारको ऐतिहासिक पहिचान जोगाउन राज्य पक्षबाट सहयोगको खाँचो रहेको बताए। उनले भने, "इतिहास बोकेको टक्सारलाई पहिलाकै अवस्थामा फर्काउन गुरुयोजनासहित काम गर्न आवश्यक छ।"

यशोधरा माध्यमिक विद्यालय, टक्सारका प्रधानाध्यापक ध्रुवराज रेग्मीले यी सम्पदाहरूको संरक्षणका लागि स्थानीय नागरिक, स्थानीय तह, प्रदेश र सङ्घीय सरकार सबैले ध्यान दिनुपर्नेमा जोड दिएका छन्। उनले यदि यसतर्फ ध्यान नदिइए टक्सारको पहिचान नै गुम्नसक्ने खतरा औँल्याएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ