जेन-जी आन्दोलनपछि प्रचण्डले सम्बोधन गर्दै के भने ? [भिडियो]
धुलो टक्टक्याएर देश निर्माणमा लाग्नुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
1.2k
Shares
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेन-जी आन्दोलनले निम्त्याएको क्षतिपछि निराश नभई पुनर्निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्। संविधान दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले भने, "यतिखेर धुलो हेरेर निराश हुने छुट हामीलाई छैन, धुलो टक्टक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ।"
अध्यक्ष दाहालले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ७० भन्दा बढी युवाहरूको ज्यान गएको र सार्वजनिक सेवा अस्तव्यस्त भएकोमा शोक व्यक्त गरे। उनले यी घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
उनका अनुसार, जेन-जी आन्दोलनलाई समयमै सम्बोधन गर्न नसक्दा मुलुक अहिले तरल अवस्थामा पुगेको छ। उनले आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामै सीमित भएको भन्दै, प्रत्यक्ष निर्वाचित कार्यकारीको शासकीय स्वरूपमा जाने र इतिहास रच्ने अवसर गुमेकोमा चिन्ता व्यक्त गरे।
अध्यक्ष दाहालले देश र जनताविरुद्धका षड्यन्त्र अझै नसकिएको र अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास भइरहेको बताए। उनले चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनाबद्ध प्रयास हुन सक्ने आशंका व्यक्त गरे।
पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनले इतिहासको चिहानमा मिल्काइएकाहरूले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धिहरू उल्टाउने प्रयास भइरहेको टिप्पणी गरे। उनले देश, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै परिवर्तनप्रेमी शक्तिहरूबीच बलियो एकताको आवश्यकता रहेको बताए।
उनले आन्दोलनका क्रममा संसद भवन, सर्वोच्च अदालत र सिंहदरबार लगायतका संरचनामा भएको तोडफोड र आगजनी जेन-जीको काम नभई प्रतिगमनकारी र आपराधिक तत्वहरूको प्रहार भएको दाबी गरे। दाहालले देश अहिले इतिहासकै गम्भीर संकटमा परेको भन्दै सबैलाई राष्ट्रिय स्वाधीनता र जनताको आत्मसम्मानको रक्षा गर्न एकजुट हुन आग्रह गरे।