arrow

दशैँका लागि भेडाच्याङ्ग्रा झर्न थाले बजार 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
bheda-chayangra.jpg

म्याग्दी। दशैँ नजिकिँदै गर्दा मुस्ताङ, डोल्पा र जुम्लाजस्ता हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्राहरू विभिन्न बजारमा झर्न थालेका छन्। यी हिमाली चौपाया बजारमा आउनुले दशैँको चहलपहल सुरु भएको सङ्केत दिन्छ।

मुस्ताङबाट आएका भेडाच्याङ्ग्राहरूलाई बेनी–जोमसोम सडक हुँदै म्याग्दीको बैसरीसम्म पैदल ल्याइन्छ र त्यसपछि ट्रक तथा कन्टेनरमार्फत पोखरा, काठमाडौंलगायत ठूला सहरमा पुर्‍याइन्छ। नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले अहिलेसम्म १ हजार ३०० भेडाच्याङ्ग्रा काठमाडौं पठाइसकिएको र थप १ हजार ७०० पठाउने तयारी भइरहेको जानकारी दिए।

मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको मूल्य आकारअनुसार प्रतिगोटा रु ३२ हजारदेखि ३७ हजारसम्म मा बिक्री भइरहेको छ। व्यवसायीहरूका अनुसार, काठमाडौं पुर्‍याउँदा जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो रु १ हजार ३०० सम्म पुग्न सक्ने अनुमान छ।

यस वर्ष दशैँमा डोल्पा र जुम्लाबाट ३ हजार र मुस्ताङबाट १२ हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ। मुस्ताङस्थित भेटेरिनरी अस्पतालले भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी मात्र बजार पठाउने व्यवस्था गरेको छ।

मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले च्याङ्ग्रापालनबाटै आफ्नो जीविकोपार्जन हुँदै आएको बताए। यद्यपि, यो पेसा चुनौतीरहित छैन। पर्याप्त हिउँ नपर्दा घाँसको अभाव हुने र हिउँ चितुवा तथा ब्याँसोको आक्रमणबाट बचाउनुपर्ने प्रमुख चुनौतीहरू रहेका छन्। पाँच वर्ष उमेर पुगेका च्याङ्ग्राहरू मासुका लागि उपयुक्त मानिन्छन्।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन्। च्याङ्ग्राको भुवा पश्मिनाको कच्चा पदार्थका रूपमा पनि प्रयोग हुन्छ। मुस्ताङका भेडाच्याङ्ग्राको ठूलो बजार पोखरा, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङ लगायतका क्षेत्रहरू हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ