छ हजार तीन सय २८ कैदीबन्दी कारागार फर्किए, आठ हजार दुई सय २६ अझै फरार
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
994
Shares
तस्बिर : फाइल
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म छ हजार तीज सय २८ जना कैदीबन्दी फर्किएका छन् ।
दैनिकजसो नै कैदीबन्दी फर्किरहेको र कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् भने कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएका छन् । पछिल्लो एक दिनमा मात्रै एक सय ४९ जनालाई फर्काइएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए ।
देशभरका २८ कारागार तथा नौ वटा बालसुधार गृहबाट गरी १४ हजार पाँच सय ५५ कैदी भागेका थिए । अझै आठ हजार २२६ जना सम्पर्कमा नआएकाले खोजीकार्य भइरहेको निर्देशक न्यौपानेले बताए ।
कारागारबाट १३ हजार पाँच सय ९१ र सुधारगृहबाट नौ सय ६४ जना भागेका थिए । सम्पर्कमा आएकामध्ये कारागारबाट भागेका पाँच हजार नौ सय ८७ तथा सुधारगृह तर्फका तीन सय ४१ जना छन् ।
आन्दोलनका क्रममा नेपाल प्रहरीले हिरासतमा रहेका करिब दुई हजार आरोपीसमेत फरार रहेका जनाएको छ ।
उनीहरूको खोजी जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
देशभर ३० हजार छ सय ३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि हाल २१ हजार नौ ९९ जना मात्रै कैदी बन्दी छन् ।