arrow

बाढीले क्षतिग्रस्त स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
bipad-bhotekoshi.jpg

रसुवा। गत असार २४ र साउन १४ गते ल्हेंन्दे खोलामा आएको बाढीले क्षति पुर्‍याएको स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत गरिएको छ। सडक विभागले टिमुरेको तातोपानी डाँडादेखि रसुवागढीसम्म र रसुवागढी जलविद्युत् आयोजनाले बाँकी भागको मर्मतमा सहयोग गरेका छन्।

टिमुरेभन्दा माथि पहरो कटिङ गर्न नसकिएकाले भोटेकोसी खोलाको नजिकबाट यातायात सञ्चालनमा ल्याइएको छ। खोलामा पानीको बहाव नबढेसम्म हिउँदभरका लागि यातायात सञ्चालन सहज हुने बताइएको छ।

यसैबीच, गोसाइँकुण्ड गाउँपालिका-३ स्थित कुलुङको ठाडो खोलामा रहेको पक्की पुलको जग जोखिममा परेको छ। निरन्तरको वर्षाले कुलुङ खोलाको पानीको बहाव बढेपछि पुलको पूरै जग जोखिममा रहेको गल्छी-मैलुङ-रसुवागढी राजमार्ग सुधार आयोजनाका इञ्जिनियर कुमारविक्रम पराजुलीले बताए।

उनले पुलबाट यात्रुबाहक बस र हल्का सवारीसाधन मात्र सञ्चालनमा रहेको र मालबाहक सवारीसाधन आवतजावतमा रोक लगाइएको जानकारी दिए।

बाढीले बगाएको नेपाल-चीन जोड्ने मितेरी पुल को पुनर्निर्माण कार्य चिनियाँ पक्षले जारी राखेको छ। मितेरी पुल बग्दा भन्सारबाट साढे सात अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए।

सडक र पुलको अवरोधका कारण रसुवागढी जलविद्युत् आयोजनाको बाँध पुनर्निर्माण पनि अन्योलमा परेको छ। आयोजनाका प्रबन्ध निर्देशक सत्यराम ज्याख्वले सडकको कारण निर्माण सामग्री र उपकरण ढुवानी गर्न नसक्दा आयोजनाले १ करोड २७ लाख ८७ हजार रुपैयाँ घाटा व्यहोर्नु परेको बताए। आयोजनाको भित्री संरचना सुरक्षित रहे पनि ड्याम क्षेत्रको बाहिरी भागमा क्षति पुगेको प्राविधिकहरूले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ