arrow

खाँडादेवीमा आजै राखियो जमरा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
khadadevi-temple-jamara.jpg

रामेछाप । पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैँ शुरू भएको छ । सोमबार घरघरमा घटस्थापना गरी जमरा राखिँदै छ । रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवीमा भने घटस्थापनाको अघिल्लो दिन जमारे औँसी अर्थात् आजै जमरा राखिएको छ । 

सर्वसाधारणले लगाउने जमरा घटस्थापनाको दिन राखिने भए पनि देवीले लगाउने जमरा त्यसो अघिल्लो दिन नै राख्ने परम्परा रहँदै आएको छ । सोही परम्परा अनुसार आज खाँडादेवीमा जमरा राखिएको छ । 

खाँडादेवी विकास कोषको आयोजनामा खाँडादेवी मन्दिरमा जमरा राखिएको हो । जमरा राख्ने कार्यक्रममा विकास कोषका अध्यक्ष शेरबहादुर तामाङलगायत कोषका पदाधिकारीहरू, पुजारीहरू तथा मन्दिरका गुठियारको सहभागिता थियो । 

जमरा राखेसँगै खाँडादेवी मन्दिरमा दशैँ विशेष बलि र पञ्चबलि खुलेको छ । अब मन्दिरमा पञ्चवली र बलि लिएर आउने मानिसको भिड लाग्ने गर्दछ । 

खाँडादेवीलाई ऐतिहासिक शक्तिपीठ मानिन्छ । यसको वर्ष देवीभागवत महापुराणमा समेत गरिएको छ । शिवपुराणको हिमवतखण्डमा पनि यो मन्दिरको चर्चा छ ।

यस मन्दिरमा किँरातकालदेखि नै पूजाआजा गर्दै आएको विश्वास गरिन्छ । पहरी समुदायले खाँडादेवीलाई आफ्नी चेली ठानी विशेष पूजा गर्ने गर्दछन् ।

वि.सं १५७३ मा मन्दिरमा चढाइएको ठुलो घण्ट अहिले पनि मन्दिरमा सुरक्षित छ । त्यसअघि चढाइएका चाँदीका जन्तरलगायत गहना अहिले पनि सुरक्षित अवस्थामा छन् । दरबारबाट चढाइएका ती धरोहरले खाँडादेवी मन्दिरको ऐतिहासिकता प्रमाणित गर्दछ ।

जनश्रुति अनुसार, नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले सिन्धुलीगढीपछि खाँडादेवीलाई सहायक गढी बनाएका थिए ।

युद्ध जित्न खाँडादेवीको आशीर्वाद लिएको र युद्धपश्चात् खाँडादेवीको शिला तीन पटकसम्म दरबार लैजान खोज्दा पनि बाटोमै हराएर पुनः मन्दिरमै फर्किने गरेको जनश्रुति रहँदै आएको छ । त्यसपछि पृथ्वीनारायण शाहले खाँडादेवीसहितका देवीदेवतालाई बलि दिने परम्परा सुरु गराएको विश्वास गरिन्छ ।

उनकै आदेशअनुसार खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका तथा गणेशलाई हाँस र कुखुराको पोथी बलि दिने परम्परा आजसम्म चलनमा छ । पहिला यो पूजाको खर्च दरबारबाटै आउने गथ्र्यो भने अहिले खाँडादेवी विकास कोषले त्यसलाई निरन्तरता दिँदै आएको छ ।

कोषले हरेक वर्ष बडादशैँ र चैते दशैँको नवमीका दिन सो सरकारी पूजा गर्दै आएको छ । साथै, खाँडादेवी मन्दिरको संरक्षण, पूजा तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्य पनि कोषमार्फत हुने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ