काठमाडौं। दशैँको अवसरमा यात्रुहरूलाई सहज यात्राको सुविधा दिन आजदेखि सार्वजनिक सवारी साधनको रुट परमिट (अनुमति) खुला गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले चाडपर्वमा यातायात सञ्चालन सहज बनाउन यो निर्णय गरिएको जानकारी दिएका हुन्।
रुट परमिट खुला भएसँगै अब सार्वजनिक यातायातले रुट नलिईकनै देशभरका कुनै पनि गन्तव्यमा जान पाउनेछन्। यद्यपि, कुनै बाटोमा विशेष प्रकृतिका कारण निषेध गरिएका सवारी साधनका लागि भने यो बन्देज कायम रहनेछ।
यो सुविधा आगामी असोज २२ गतेसम्म लागू हुनेछ। यात्रुहरूले यात्रा गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्ने महासंघले जनाएको छ।
यसैबीच, सरकारले खाद्यान्नलगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेकका ठूला सवारी साधनहरू (ट्रेलर) लाई आजदेखि पूर्णिमासम्म नारायणगढ–काठमाडौं खण्डमा सञ्चालन गर्न रोक लगाउने निर्णय गरिसकेको छ। यसबाट चाडपर्वमा यात्रुवाहक सवारीको आवागमन सहज हुने अपेक्षा गरिएको छ।