गोरखा। हिन्दुहरूको महान् पर्व बडादसैँको पहिलो दिन आज गोरखा दरबारको दसैँघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ। बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा मूलदरबारको दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा जमरा राखिएको हो।
गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईका अनुसार, परम्पराअनुसार कैलास कोठाबाट देवी भगवतीलाई मूलदरबारको गर्भगृहमा राखेपछि लगत्तै पानीको घडा थापेर जमरा राखिएको हो। उनले भने, "घटस्थापनाका दिन गोरखा दरबारको दसैँघर र कालिका मन्दिरमा एक-एक पाथी जौँको जमरा राखिएको छ।" गोरखनाथ मन्दिरमा चार माना र उपल्लो तथा तल्लो कोटमा एक-एक माना जमरा राखिएको पनि उनले बताए।
गोरखामा घटस्थापना गरेपछि मात्रै देशभरका हिन्दुधर्मालम्बीले घरघरमा जमरा राख्ने परम्परा रहेको छ। आजदेखि कालिका मन्दिरमा नियमित बलि दिने प्रचलन पनि सुरु भएको छ।
यसैगरी, गोरखाकै प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज बिहानको शुभसाइतमा जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिए। घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको छ।