arrow

यात्रुसँग तोकिएको भन्दा बढी भाडा नलिन श्रमिकलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
yatatat-gandaki.jpg

काठमाडौँ । दशैँमा घर फर्कने र अन्य कामले सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको संख्या बढी हुने भएकाले यस्तो बेला सरकारले तोकिएको भन्दा बढी भाडा नलिन र सकेजति यात्रुहरुको सेवालाई सहज बनाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरिका सम्पूर्ण यातायात श्रमिकलाई अनुरोध गरेको छ । 

दशैँको पहिलो दिन घटस्थापनादेखि सरकारले देशभरिका रुट परमिट (बाटो इजाजतपत्र) असोज २२ गतेसम्म खुला गरेको छ ।

संगठनका अध्यक्ष भीमज्वाला राईले चाडको बेला यात्रुसँग बढी भाडा लिएको, सेवा राम्रो नदिएको जस्ता गुनासा विगतमा आउने गरेकाले यस्ता गुनासा आउन नदिन तोकिएको भन्दा बढी भाडा कुनै पनि यात्रुसँग नलिन अपील गरेका हुन् ।

अध्यक्ष राईका अनुसार हामी सेवा प्रदान गर्ने श्रमजीवी भएकाले राज्यले निर्माण गरेको नीति र विधिका आधारमा सेवा प्रदान गर्नु श्रमिकको दायित्व भएको बताए । 

एक जना मजदुरले कुनै यात्रुसँग एक रुपैया मात्रै बढी भाडा लिएको सन्देश प्रवाह भएमा देशभरिका यातायात मजदुरको बदनाम हुने भएकाले श्रमिकको प्रतिष्ठाका लागि पनि त्यस्तो कार्य नगर्न अनुरोध गरिएको अध्यक्ष राईले बताए ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सरोकारवालासहितको छलफलका आधारमा गत वर्ष पुस २२ गते निर्धारण गरेको देशभरिका रुटका भाडादर नै अहिलेको आधिकारिक भाडा भएकाले सोही अनुसार यात्रुबाट भाडा लिन र सोही अनुसार टिकट काट्न संगठनले सबै मजदुरलाई आग्रह गरेको अध्यक्ष राईले बताए । 

यातायात व्यवस्था विभागले सार्वजनिक गरेको नर्मल, डिलक्स र सुपर डिलक्सका आधारमा निर्धारण गरेको भाडादर सबैले आआफ्नो सवारीसाधनमा र बुकिङ काउन्टर मा सबै यात्रुले देखिनेगरी टास्न र सोही अनुसार भाडा लिन र टिकट काट्न संगठनले श्रमिकलाई आग्रह गरेको छ ।

यात्रुसँग बढी भाडा लिएको उजुरीपरे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (थ) को कसुर अनुसार कानूनी कारबाहीसमेत हुनसक्ने भएकाले यसबारे सबै श्रमिक सजग हुनुपर्ने संगठनले आह्वान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ