आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
875
Shares
काठमाडौँ । हिन्दुहरूको महान् पर्व दसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो स्वरूप ब्रह्मचारिणीको पूजा गर्ने गरिन्छ।
नवरात्रको पहिलो दिन सोमबार विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो। आज भने त्यसै स्थानमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा गरिँदै छ।
नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत जस्ता धार्मिक ग्रन्थहरूको पाठ गर्ने गरिन्छ। यस अवधिमा देवीको पूजा गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। ब्रह्मचारिणी देवीलाई सच्चिदानन्द रूप ब्रह्मको बोध गराउने शक्तिका रूपमा लिइन्छ।
नवरात्र सुरु भएसँगै देशभरका शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढेको छ।