निजी र सार्वजनिक संरचना ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घट्यो : पाण्डे
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
824
Shares
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेन-जी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचना ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् ।
नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा पाण्डेले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को पाँच प्रतिशत नोक्सान भएको जानकारी दिए ।
‘उद्योगमा कुल जीडीपीको पाँच प्रतिशत असर पुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट केकस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ,’ उनले भने ।
उनले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नु पर्ने धारणा राखे । ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलीयत दिनसक्नुपर्ने सुझाव उनको छ ।
‘सीएनआईले विभिन्न कानूनमा सुधार गर्नका लागि सुझाव दिएको छ, छरितो र बुझ्न सक्ने कानून बनाउन जरुरी छ,’ उनले भने ।
उनका अनुसार अब शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको छ । ‘शिक्षामा लगानी छ तर, त्यसको प्रतिफल कम छ । केकस्ता सुविधा दिएर काम गर्न सकिन्छ भनेर सल्लाह गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।
उनले केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनले त्यो लगानी रोकएिको धारणा राखे ।
उनले केही महत्वपूर्ण प्राथमिकताका क्षेत्रहरू निर्धारण गरेर ती क्षेत्रमा काम गर्न जरुरी रहेको सुनाए । उनले उर्जा, पर्यटन, शिक्षा र कृषिलगायतका क्षेत्रमा अब काम गर्न आवश्यक रहेको धारणा राखे ।