नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
977
Shares
काठमाडौँ। हिन्दुहरूको महान् पर्व बडा दशैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज (बुधबार) चन्द्रघण्टा देवीको विशेष पूजा-आराधना गरिँदै छ। दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो स्वरूप चन्द्रघण्टाको पूजा गर्ने गरिन्छ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक तोयराज नेपालका अनुसार, हातमा चन्द्रमाको आधार भएको घण्ट लिएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। मार्कण्डेय पुराणमा पनि 'चन्द्रः घण्टायां यस्याः सा' अर्थात् जसको घण्टामा चन्द्रमा रहेको छ, उहाँलाई चन्द्रघण्टा भनिन्छ भनी उल्लेख गरिएको छ।
चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको हुन्छ र यिनले अत्याचारी दानवी शक्तिको नाश गर्छिन्। गीत-संगीत क्षेत्रमा लागेकाहरूले विशेष गरी चन्द्रघण्टा देवीको आराधना गर्ने गर्छन्। आजको दिन निष्ठापूर्वक पूजा-आराधना गर्दा अनेकौं शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
नवरात्रको पहिलो दिन सोमबार घटस्थापना गरी शैलपुत्री देवीको पूजा-आराधना गरिएको थियो भने दोस्रो दिन मंगलबार ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो। यसैगरी, दशैँभर देशभरका शक्तिपीठहरूमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ।