arrow

तीन दिनमा एक लाख ३८ हजारले छाडे काठमाडौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
dashian-buspark-81-6-19-(21.jpg

काठमाडौँ। घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौँ छाडेका हुन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दशैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार उक्त तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट उक्त यात्रुहरू गन्तव्य स्थलमा गएकाहरूको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले पानी परेका कारण राजमार्गमा पहिरो जाँदा सवारी साधनलाई आवतजावतमा समस्या परेको बताए ।

“मुग्लिङ-नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौँसम्म सवारी साधन बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ,”, अध्यक्ष स्वारले भने ।

काठमाडौँ गोँगबुस्थित राष्ट्रिय बसपार्क नयाँ बसपार्कमासमेत दशैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले नयाँ बसपार्कबाट दैनिक ५०० बस बाहिरिन थालेको बताए ।

उनले अरु समयमा दैनिक औसतमा दुई सय ५० बस बाहिरिए पनि अहिले उक्त सङ्ख्यामा वृद्धि भएको बताए ।

यात्रुको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घसंस्थाको सहकार्यमा काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ