arrow

दक्षिण भारतीय अभिनेता विजयको र्‍यालीमा भागदौड, ४० जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
actor-vijay-rally-stempade4.jpg

चेन्नई । दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्‍यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उनका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरवाहीको आरोप लगाइएको छ ।

    शनिबार करिब २७ हजार मानिस विजयलाई हेर्न तमिलनाडु राज्यको करुर जिल्लामा भेला भएका थिए । अपेक्षा गरिएको सङ्ख्याभन्दा झण्डै तीन गुणा बढी भीड आउँदा त्रास फैलियो र घातक दुर्घटना भयो ।

    भारतमा यस्ता भीड दुर्घटनाहरू प्रायः ठूलो जमघट र कमजोर सुरक्षा तयारीका कारण हुने गरेका छन् । यसपटक पनि अपर्याप्त प्रहरी उपस्थिति, रूखमा चढेका केही मानिस दर्शकहरू खस्नु र घन्टौँ लामो पर्खाइले दुर्घटनालाई चर्काएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

    प्रहरीले विजयको पार्टीका वरिष्ठ सदस्यहरू बुसी आनन्द, जी.आर. निर्मल कुमार र भी.पी. मथियाजगनविरुद्ध मुद्दा दर्ता गरेको छ ।

    वरिष्ठ प्रहरी अधिकारी एस. डेभिडसन देवसिरवथमले भने, “मुद्दा दर्ता भइसकेको छ । अनुसन्धानले यसमा संलग्न सबैको पहिचान गर्नेछ ।”

– पीडित र क्षतिपूर्ति –

    वरिष्ठ जिल्ला अधिकारी एम. थाङ्गावेलका अनुसार मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ, जसमा नौ जना बालबालिका छन् ।

    विजयले विज्ञप्ति जारी गर्दै भने, “मेरो हृदयमा परेको पीडा व्यक्त गर्न शब्द छैन । यो अपूरणीय क्षति हो ।”

    उनले प्रत्येक पीडित परिवारलाई २० लाख रुपैयाँ (करिब २२ हजार अमेरिकी डलर) क्षतिपूर्ति दिने घोषणा गरे । 

    सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा विजयले आतङ्क फैलिनुअघि आफ्ना समर्थकलाई पानीको बोतल फ्याँक्दै गरेको देखिएको छ । भीड अनियन्त्रित बनेपछि उनले आफ्नो भाषण रोक्नुपरेको थियो ।

– भीड नियन्त्रणमा कमजोरी –

    राज्य प्रहरी प्रमुख जी. वेङ्कटरमनका अनुसार भीड बिहान ११ बजेदेखि जम्मा हुन थालेको थियो तर विजय साँझ ७ः४० मा मात्र कार्यक्रममा पुगे ।

    “मानिसहरूलाई तातो घाममा खाना र पानीको अभावमा घण्टौँ पर्खनु पर्‍यो”, उनले भने  । 

    दश हजार मानिस आउने अनुमान भए पनि झण्डै २७ हजार जनाको उपस्थिति भएपछि अवस्था नियन्त्रणबाहिर पुगेको थियो ।

    बचेका १९ वर्षीय बी. कनिष्कले भने, “अचानक भीडले मलाई तल धकेल्यो । म बेहोस भएँ ।”

    अरू प्रत्यक्षदर्शीहरूले पनि खराब सङ्गठन, लामो पर्खाइ र घटनास्थलमा प्रहरीको अभावले दुर्घटना निम्त्याएको बताए ।

    स्थानीय मिडियाले रूखमा चढेका केही समर्थक तल खसेपछि आतङ्क फैलिएको उल्लेख गरेको छ ।

– यस्ता दुर्घटनाको इतिहास –

    भारतमा भीड नियन्त्रणमा कमजोरीका कारण यसअघि पनि ठूला दुर्घटनाहरू भएका छन् । यस वर्ष जनवरीमा उत्तर प्रदेशको धार्मिक मेलामा ३० जनाको मृत्यु भएको थियो । गत वर्ष सोही राज्यमा हिन्दू प्रार्थना सभाका क्रममा १२१ जनाको मृत्यु भएको थियो ।

    यसै वर्ष जुन महिनामा, बेङ्गलुरुमा क्रिकेट उत्सवका क्रममा ११ प्रशंसकले भिडले किचिएर ज्यान गुमाएका थिए ।

    विजयले सन् २०२४ मा आफ्नै पार्टी स्थापना गरेका थिए । सन् २०२६ मा हुने तमिलनाडु राज्य चुनावलाई लक्षित गर्दै उहाँले आयोजना गर्ने प्रत्येक कार्यक्रममा ठूलो भीड जुट्ने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ