पोखरा । सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन दशैँ मनाउन पोखरा आएका छन् । उनी मन्त्रालयबाट आज बिहान निस्किएर जहाजबाट पोखरा आएका थिए ।
मन्त्री पुन पोखरा एयरपोर्टबाट ट्याक्सी चढेर नदीपुरस्थित घर आएका थिए । उनको परिवार पत्नी ओममाया पुन तथा दुई छोरीहरू झरना र जुना पुन पोखरामा बस्दै आएका छन् ।
छोरीहरूको अध्ययनको शिलशिलामा पुनको परिवार पोखरा बस्दै आएका हुन् । मन्त्री पुन कुनै पनि सुरक्षाकर्मी र पीएसओ साथमा नलिई घर आएका हुन् ।
उनको पोखरा बसाई कति दिन हो भन्ने बारे केही बताइएको छैन । मन्त्री पुन पोखरा आउने जानकारी कसैलाई पनि दिइएकाे थिएन ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन मन्त्री भएपछि मन्त्रालयमै बस्दै आएका थिए ।उनले सरकारी कामबाहेक अन्य अवस्थामा सरकारी सवारी र सुरक्षा नलिने घोषणा गरेका छन् ।