म्याग्दी । वर्षा कम हुँदै गएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो छेपेर रंगिएका घरहरू । खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द ।
शरदयामको मौसमसँगै चाडपर्वले मानिसको मनमा उमंग छाएको छ । शहर बजार र विदेशिएकाहरू दशैँ पर्व मनाउनका लागि जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघर गुन्जयमान भएका छन् ।
रोजगारी, अध्ययन, पेशा र व्यवसायका लागि बजार झरेका र विदेशिएकाहरू जन्मथलो फर्किएपछि गाउँघरमा चहलपहल बढेको मालिका गाउँपालिका-३ का गोविन्द पटेलले बताए।
“अघिपछि गाउँघरमा युवाहरू नभए पनि विदेशिएका र शहर पसेका आफन्त गाउँ फर्केपछि रौनक छाएको छ,” उनले भने “चाडपर्वले वर्षौँपछिका आफन्त, साथीभाई र ईष्टमित्रको मिलन गराउँदा उमंग छाएको छ ।”
छ वटा स्थानीय तहको ४५ वटा वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसंख्या छ । वि.स. २०६८ पछिको १० वर्षमा म्याग्दीको जनसंख्या करिब सात हजार जनाले घटेको हो ।
गाउँ-गाउँमा सडक, घर-घरमा खानेपानी, विद्युत, इन्टरनेट सुविधा पुगे पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिस सहर तथा विदेशिने क्रम बढेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा म्याग्दीका स्थानीय तहमा ८९ परिवार बसाइसराई गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छोडेर अन्यत्र गएका छन् ।
अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिक बढी भेटिने ग्रामिण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसको चहलपहल बढेको छ ।
धवलागिरी गाउँपालिका-७ ताकमका सुनेश केसी पाँच वर्षपछि दशैँ मनाउन कोरीयाबाट जन्मथलो आएका छन्।
“चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर न्यास्रो लाग्थ्यो,” उनले भने, “उकाली ओराली गरेका भूगोलसँगै पढेका साथीभाइ, आफन्तजन र छिमेकीसँगको आत्मीयता विदेशमा हुँदैन ।”
शहरबजार र विदेशको चाडपर्व घर र परिवारमा सीमित हुन्छ । गाउँघरको चाडपर्वमा मौलिकता र संस्कृति लुकेको हुन्छ ।
आफन्त साथीभाइ र इन्टमित्रको भेटघाटले विगतको स्मरण गराई नयाँ योजना बनाउन सघाउने बेनी नगरपालिका-५ का दिनेश बानियाले बताए।
दशैँको नवदुर्गामा गरिने पूजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दशैँको विशेष महत्व हुने दशैँ मनाउनका लागि बेनीबाट दशैँ मनाउन जन्मथलो रघुगङ्गा-४ दग्नामस्थित घरमा गएकी सोनालिका गर्बुजाले बताए।
“बच्चा हुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्ग पिङ हालेका छौँ,” पोखराबाट दशैँ मनाउन धवलागिरी गाउँपालिका-७ हिलापोखरीस्थित जन्मथलोमा आएका खुम पुनले भने, “बाँसको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच… हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै हुन्छ ।”
गाउँको बाटाघाटा र सार्वजनिक स्थल श्रमदान गरेर सरसफाई गरेका छन् । प्रायःजसो गाउँका कोतघरमा महानवमीको दिनमा मेला लाग्ने गर्छ ।
बाइसे चौबिसे राज्यका पालाका ज्यामरुक, भगवती, ताकम, बेनी, घतानलगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ । रासस