arrow

ब्रिटिश सेनाबाट अवकाशपछि व्यावसायिक बाख्रापालन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
goat-bhojpur.jpg

भोजपुर । भोजपुरका टेम्केमैयुङ गाउँपालिका-२, सिरदलीका सूर्यप्रसाद राई ३० वर्ष ब्रिटिस सेनामा सेवा गरेर अवकाशपछि आफ्नै गाउँ फर्किएर बाख्रापालन व्यवसायमा लागेका छन् । 

आफूले कमाएको रकम र सीपलाई सदुपयोग गर्दै व्यावसायिक बाख्रापालनमा जुटेका उनले अहिले समाजमा उदाहरणीयसमेत बनेका छन् ।

 

समाजलाई केही सेवा गर्ने लक्ष्यले विसं २०७५ बाट व्यावसायिक रुपमा बाख्रापालन गरिरहेको उनले बताए । 

“करिब ३० वर्ष ब्रिटिस सेनामा जागिर खाएँ”, उनले भने, “मलाई त्यही बस्ने पनि सुविधा थियो । तर म गाउँमा फर्केर समाजका लागि उदाहरणीय बन्ने सोचले व्यावसायिक कृषि पेशामा लागेको हुँ ।”

उनले अम्बा कृषि बाख्रापालन फर्म दर्ता गरेर व्यावसायिक रुपमा यो पेशामा लागेका हुन् ।

करिब १२ रोपनी बढी क्षेत्रफल रहेको फर्ममा अहिले, वोयर, स्थानीय खरिजातलगायतका बाख्रा छन् ।

व्रिटिस सरकारले त्यहाँ बस्नका लागि दिएको नागरिकता त्यागेर यो व्यवसायमा जोडिएको उनको भनाइ छ ।  

उनले आफ्नै बारीमा सुन्तला, कागती, रुद्राक्षको पनि खेती गरिरहेको बताए ।

आफूलाई पेन्सनको रुपमा आएको पैसाले राम्रोसँग जीविकोपार्जन गर्न पुग्ने भए पनि समाजका मानिसलाई केही ज्ञान दिने लक्ष्यले व्यवसायमा लागेको उनको भनाइ छ । 

व्रिटिस सेनाको जागिर पश्चात् उनले गाउँमा गरिरहेको बाख्रापालन व्यवसाय समाजका लागि अनुकरणीयसँगै उदाहरणीय रहेको टेम्केमैयुङ-३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । 

व्यावसायिक रुपमा बाख्रापालन तथा अन्य कृषि व्यवसायमा लागेका किसानलाई स्थानीय सरकारकाले पनि आवश्यक प्रोत्साहन गरिरहेको वडाध्यक्ष राईले बताए । 

व्यवसायमा लागेको किसानलाई थप उर्जा थप्न उन्नत जातको बोका वितरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ