arrow

दशैँमा खोटाङका यातायात व्यवसायीले मनपरी भाडा असुले, यात्रु मारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
khotang-yatayat.jpg

खोटाङ। चाडपर्वको मौका छोपेर खोटाङ जिल्लामा सञ्चालित यातायात व्यवसायीहरूले यात्रुबाट मनपरी भाडा असुली गरिरहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको भाडा समायोजन बैठकमा सहभागी व्यवसायीहरूले चाडपर्वको समयमा पनि साबिककै भाडादर लागू गर्ने सहमति गरे पनि त्यसको उल्लङ्घन गर्दै यात्रुबाट प्रतिव्यक्ति रु ५०० देखि रु एक हजारसम्म बढी भाडा असुलेको गुनासो छ।

जिप (टाटासुमो)का लागि दिक्तेल–काठमाडौँ को एकतर्फी भाडा रु दुई हजार कायम गरिए पनि यातायात व्यवसायीले रु दुई हजार ५०० देखि रु तीन हजार ५०० सम्म असुलेको पाइएको छ। त्यसैगरी, दिक्तेल–धरान को भाडा रु दुई हजार १०० निर्धारण गरिएको भए पनि सो सहमति कार्यान्वयन भएको छैन।

यात्रुहरूका अनुसार, व्यवसायीहरूले चाडपर्वमा एकतर्फी मात्र यात्रु हुने भन्दै सबै यात्रुबाट ‘रिजर्भ’ कै भाडा असुलेका छन्। बढी भाडा असुल गर्ने व्यवसायीहरूले प्रहरीको कारबाहीमा पर्ने डरले यात्रुलाई टिकट नदिई समेत यात्रा गराउने गरेका छन्।

बढी भाडा असुल्नेमा तुवाचुङ मारतीका यातायात प्रालि, पब्लिक मध्यपहाडी यातायात प्रालि र सगरमाथा यातायात प्रालिलगायतका यातायात व्यवसायीहरू रहेका छन्। सगरमाथा यातायात प्रालिले धरानबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीसम्म का लागि भनेर प्रतिव्यक्ति रु दुई हजार ५०० लिए पनि यात्रुलाई दिक्तेलमै ल्याएर छाडिदिएको यात्रुहरूको गुनासो छ। स्थानीय ज्ञानकुमारी राई ले खार्मीका लागि भाडा तिरे पनि दिक्तेलमा छाडेपछि पुनः रु ७०० थपेर अर्को गाडीको टिकट लिई घर पुग्नुपरेको बताइन्।

बाक्सिला–काठमाडौँका लागि एकतर्फी जिप भाडा रु दुई हजार ८०० भए पनि आफूहरूले प्रतिव्यक्ति रु तीन हजार ५०० सम्म तिर्न बाध्य भएको स्थानीय इन्द्र साम्पाङ राईले गुनासो गरेका छन्।

जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसरमा भाडादर नियमनमा कडाइ गर्ने र तोकिएकोभन्दा बढी भाडा असुल्ने, अतिरिक्त शुल्क लिने वा क्षमताभन्दा बढी यात्रु चढाउने क्रियाकलाप गरेमा कानुनी कारबाही गर्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन।

यातायात व्यवसायीले आफूखुसी बढी भाडा असुलेको विषयमा प्रमाणसहित खबर गर्दासमेत प्रहरी प्रशासनले कुनै चासो नदिएको यात्रुहरूको आरोप छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुराम न्यौपानेले भने जयरामघाट र दिक्तेल बजारमा यात्रु सहायता कक्ष सञ्चालन गरिए पनि अहिलेसम्म कुनै गुनासो नआएको प्रतिक्रिया दिएका छन्। उनले ठगीमा परेको प्रमाण उपलब्ध गराएमा कारबाही गर्ने आश्वासन दिएका छन्। खोटाङ यातायात प्रालिमा आबद्ध सवारी साधनले अहिलेसम्म कसैबाट बढी भाडा नलिएको दाबी दिक्तेल काउन्टरका प्रमुख अमिर अधिकारीले गरेका छन्।

जिल्लामा सञ्चालित अधिकांश यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको समेत गुनासो आएको छ। यातायात व्यवसायीले गरेको ठगी धन्दामा सम्बन्धित निकाय मौन बस्दा यात्रु मारमा परेको भन्दै यात्रुहरूले यसप्रति गम्भीर भएर सोच्न आवश्यक रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ