दशैँसँगै महोत्तरीको सोनामाई मन्दिरमा भूत मेलाको रौनक शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
979
Shares
जलेश्वर (महोत्तरी)। बडादशैँ को अवसरमा परम्परागत रूपमा भूत मेला का लागि प्रसिद्ध महोत्तरीको सोनामाई शक्तिपीठ मा अहिले मेलाको रौनक छाएको छ। महोत्तरीलगायत सम्पूर्ण मिथिला क्षेत्रका बासिन्दाहरू कतिबेला साँझ पर्ला र मेला शुरु होला भन्दै उत्साहित भएका छन्।
जिल्लाको औरही नगरपालिका–७ मा अवस्थित सोनामाई शक्तिपीठमा षष्ठी तिथिदेखि नै भूत मेला शुरु भएको छ, जसले अहिले सबैलाई आकर्षित गरेको छ। यो मेला परापूर्वकालदेखि नै बडादशैँको अवसरमा लाग्ने गरेको पुजारी कामेश्वर झाले बताउनुभयो। मेलामा दैनिक हजारौँ दर्शनार्थी आएर दर्शन गर्नुका साथै सहभागिता जनाउने गरेका छन्।
सोनामाई मन्दिरमा भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडितहरू प्रत्येक वर्ष आउने गर्दछन्। अर्का पुजारी रमेश झा का अनुसार, यहाँ सोनामाईको असिम कृपाले निको भएर जाने जनविश्वास रहेको छ।
वर्षौंदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन र मृत्युको दोसाँधमा परेकाहरू सोनामाईको सीमा क्षेत्रमा आउनेबित्तिकै को–कसबाट सताइएको हो भनी आफैँ भन्न थाल्छन्। पुजारी झगरु झाका अनुसार, देवीको शक्तिले सीमा क्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै पर्दै, रुँदै, हाँस्दै र विभिन्न गतिविधिहरूका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछन्। दरबारमा पुगेका पीडितहरू माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको बताइन्छ।
षष्ठीदेखि विजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, हेटौँडा, धरान, विराटनगर र काठमाडौँदेखि तथा भारतका सीतामढी, मधुवनी र पटना सहरसम्मका हजारौँ पीडित महिला तथा पुरुष पुग्ने गरेको पुजारी कामेश्वर झाले जानकारी दिए।