भक्तपुर । भक्तपुरका नेवार समुदायका युवा पुस्ता दशैँमा परम्परागत बाजा बजाउँदै संस्कृति संरक्षणमा सक्रिय भएका छन् ।
घटस्थापनादेखि यहाँ लाग्ने नौराते अर्थात नवरात्री मेलामा युवायुवतीको समूहले धिमेलगायतका बाजा बजाउँदै आआफ्नो टोलबाट मन्दिर जाने र फर्किने गरेका छन् ।
त्यसरी बाजा बजाउँदै जानेआउनेको समूहले रात गुञ्जयामान हुने गरेको छ । नेवारी पोसाकमा सजिएका उनीहरुले टोलटोलबाट धिमे, बाँसुरी, झ्यालीलगायत बाजा बजाउँदै मन्दिर गएपछि नवरात्री मेलाको रौनकता थपिएको स्थानीय बताउँछन् ।
घटस्थापनादेखि नवमीको रातिसम्म यस्ता बाजाले दसैँको रौनकता थपिने टौमढीका स्थानीय विजय धौभडेल बताउँछन् ।
मेला भर्न शक्तिपीठ आउँदा दशैँ अवधिमा साँझ र राति भक्तपुर बाजागाजाको धुनले गुञ्जायमान हुने दत्तात्रयका रामचन्द्र प्रजापति बताउँछन् ।
धिमे बजाउँदै नवरात्री मेलामा सहभागी हुन आएकी प्रतिमा श्रेष्ठले भनिन्, “बाजा बजाउँदा आनन्द आउँछ । यो हाम्रो पूर्खाको देन पनि हो, पहिला केटी मान्छेले बाजा बजाउनु हुदैन भन्थे, अहिले त्यस्तो छैन । त्यसैले बाजामा आकर्षित भएको हुँ ।”
बाजा बजाउँदै मेला भर्न आउने युवतीको सङ्ख्या पनि हरेक वर्ष बढ्दै गएको छ । “पहिले बाजा बजाउनेमा बढी सङ्ख्या युवकको हुन्थे भने अहिले बाजाप्रति युवतीको आकर्षण उत्तिकै बढेको छ”, बाजा टोलीमा झ्याली बजाउँदै आएकी सुनिता खर्बुजाले भनिन् । बाजाको प्रशिक्षण लिएपछि जात्रा र पर्वहरूमा बाजा बजाउन थालेको उनले बताइन् ।
भक्तपुरका संस्कृतिविद् प्रकाश धौभडेलले बाजाप्रति युवायुवतीको आकर्षण बढेको देखेर लापोन्मुख बाजाहरूको संरक्षण हुनेमा ढुक्क भएको बताए । रासस