विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनशिपमा जितेको रजत बोकेर फर्किन् सुनमाया
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
16.3k
Shares
काठमाडौँ । ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बूढा स्वदेश फर्किएकी छिन् । स्पेनमा सम्पन्न विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनशिपमा रजत पदक जितेकी सुनमाया मंगलबार बिहान नेपाल फर्किएकी हुन् ।
बूढालाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । महासंघका सचिव शहदेव ब्यञ्जनकार, कोषाध्यक्ष रिकी योञ्जन, सदस्य राजमान महर्जन लगायतले बूढालाई विमानस्थलमा स्वागत गरेका थिए ।
विश्व माउन्टेन रनिङ एसोसिएसनले विश्व एथ्लेटिक्स र इन्टरनेशनल एसोसिएसन अफ अल्ट्रारनर्ससँग मिलेर आयोजना गरेको विश्व च्याम्पियनशिपमा सुनमायाले रजत पदक हात पारेकी थिइन् । उनले ८० किलोमिटरको महिला लङ ट्रेल रनको दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पुरा गरेकी थिइन् ।
नेपाल एडभेन्चर फेडेरेसनले प्रतियोगितामा नेपालबाट बुढा सहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई सहभागी गराएको थियो । टोलीको व्यवस्थापकमा प्रीति खत्री थिइन् ।