arrow

दशैँमा कर्णालीका तीन जिल्लामा टेलिफोन सेवा अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
humla-telecom-tower.jpg

काँक्रेविहार (सुर्खेत)। कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम र डोल्पा जिल्लामा विगत पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। चाडपर्वको समयमा सञ्चार सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयहरू आफन्तसँग कुरा गर्नबाट वञ्चित भएका छन्।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४, ५, ६ र जाजरकोटको नलगाड नगरपालिका–१२, १३ मा पूर्ण रूपमा सञ्चार सेवा अवरुद्ध भएको छ। यस्तै, बारेकोट गाउँपालिका–५ मा रहेको रतनकोटस्थित टावरमा समस्या आएपछि बारेकोट गाउँपालिकाको अधिकांश भाग सञ्चार सेवाबाट विच्छेद भएको छ।

नलगाड नगरपालिकाका प्रमुख डम्मर रावतले रुकुम पश्चिमको गोतामकोट, जाजरकोटको नायकवाडा र तनकोटको टावरमा समस्या आएपछि नागरिकहरू दसैँको मुखैमा आफन्तसँग कुरा गर्न नपाएको जानकारी दिए। उनले सञ्चार सेवा अवरुद्ध भएको जानकारी जिल्ला हुँदै प्रदेश कार्यालयमा पुर्‍याए पनि हालसम्म समाधान नभएको बताए।

यसैगरी, सोही टावरको सहायताले डोल्पाको मुडकेचुलामा रिले गर्ने भएकाले डोल्पाको मुडकेचुलामा समेत सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।

नेपाल टेलिकम जाजरकोटका प्राविधिक प्रकाश उपाध्ययका अनुसार समस्या आएको ठाउँमा मर्मतको काम भइरहेको छ। उनले गोतामकोट टावर मर्मत गरिसकेपछि नायकवाडा टावर मर्मत गरिने जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ