arrow

महानवमीमा तलेजु मन्दिर खुला: दर्शनार्थीको बिहानैदेखि घुइँचो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
taleju-bhawani-mandirs.jpg

भक्तपुर। भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज महानवमीको दिन बिहानैबाट दर्शनका लागि खुला गरिएको छ।

हरेक वर्ष महानवमीका दिन मात्र यो मन्दिर सर्वसाधारणका लागि खुल्ला गर्ने प्रचलन छ। महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज दिनभर यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ।

तलेजु भवानीसँग जोडिएको एक धार्मिक किंवदन्तीअनुसार, सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको र राजाले कुदृष्टिले हेरेपछि भवानी त्यहाँबाट हराएकी थिइन्।

राजाले क्षमायाचना गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउने वचन दिएकीले हरेक वर्ष महानवमीको दिन मन्दिरमा प्रकट हुने जनविश्वास छ। अर्को किंवदन्तीअनुसार, उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीको रूपमा प्रवेश गरेको मानिन्छ।

त्यसै बेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारी को रूपमा पुज्न थालिएको हो। भक्तपुर तलेजुका मुख्य नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार, कुमारी पुज्ने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएर पछि काठमाडौँ र ललितपुरमा विस्तार भएको थियो।

भोलि विजयादशमीको दिन बिहीबार जीवित देवी कुमारीको हातबाट टीका थाप्ने प्रचलन छ।

महाअष्टमीका दिन राति मनाइने ३२ लक्षणयुक्त निकुथु (निक्खर) राँगो दौडाउने जात्रा सम्पन्न भएको छ। महिषासुरको प्रतीक मानिने निक्खर राँगो जात्रा स्थानीय व्यासी टोलबाट दौडाउँदै यालाछें, बालाखु हुँदै दरबार स्क्वायरसम्म ल्याएर तलेजुमा पुर्‍याई कालरात्री पूजा गरिएको थियो।

जात्राका क्रममा स्थानीयहरूले बाटोको दुवै छेउमा बसी सुकुन्दा बत्ती बालेर राँगोलाई पूजा गर्ने गर्दछन्। दरबार स्क्वायरमा पुगेपछि खड्ग लिएर बसेका पूजारीले राँगोलाई मूलचोक भित्र्त्याउन आदेश दिएसँगै तलेजुको मूलचोकमा पुर्‍याएर कालरात्री मनाइएको मुख्य नाइके जोशीले जानकारी दिए।

उनका अनुसार, दसैँ महाअष्टमीको अवसरमा तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि दिएर कालरात्री मनाइएको हो। गुठी संस्थान कार्यालय अर्थात् सरकारको व्यवस्थापनमा वर्षौदेखि चल्दै आएको बलि दिने परम्पराअनुसार यसपटक पनि बलि पूजा गरिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ