arrow

मिथिलामा आज रावण वध उत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
dasahai-mithila.jpg

महोत्तरी। मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव मनाइँदैछ। महोत्तरीको मटिहानीमा वर्षौंदेखि यो उत्सव मनाउने परम्परा रहँदै आएको छ। श्रीराम मिथिलाका ज्वाइँ भएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावण वध लाई मैथिलहरूले उत्सवका रूपमा लिने गरेका छन्।

विजयादशमीको दिन श्रीरामले असुर रावणको संहार गरेको स्मरणमा यो प्रतीकात्मक उत्सव मनाउने गरिएको हो। मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार, विजयादशमीको दिन साँझको बेला दश टाउको भएको अजङ्गको रावण प्रतिमालाई श्रीरामले चलाएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाइन्छ। यस प्रयोजनका लागि दुर्गा मन्दिर परिसरमा रावणको ठूलो पुतला बनाइएको छ।

नगरप्रमुख मण्डलले विजयादशमीका दिन बिहान देवी पूजन विसर्जन गर्ने र साँझ रावण वध उत्सव मनाउने जानकारी दिए। उनले भने, "विजयाको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गर्नुभएको विश्वासमा यहाँ त्यसैबेला पारेर रावणको आकृतिलाई तीरले ढालिन्छ।"

मैथिल लोकपरम्पराका ज्ञाता तथा सेवानिवृत्त सहप्राध्यापक ध्रुव रायका अनुसार, मर्यादा पुरुषोत्तम श्रीरामले दश इन्द्रीयका दास दशानन (रावण) माथि विजय प्राप्त गर्नुभएको हुनाले नै यो पर्वले ‘दशहारा’ (दश इन्द्रीयको दासत्वलाई हराउने) पर्वको नाउँले प्रसिद्धि पाएको हो। उनले बडादसैँ नाउँ पनि ‘वर्जय दश इन्द्रीय’ बाट बनेको बताए।

मटिहानीका ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरीप्रसाद मण्डलको कथनअनुसार, सत्ययुगमा देवी दुर्गाले दैत्य संहार गरेझैँ त्रेता युगमा श्रीरामले दशमीकै दिन रावणसहितका असुर प्रवृत्तिको अन्त्य गरेको विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको हो।

नगरप्रमुख मण्डलले रावण वध उत्सव यस क्षेत्रको महत्त्वपूर्ण संस्कृति र परम्पराको अभिन्न अङ्ग बनेको बताएका छन्। मटिहानीमा 'वध' गरेको देखाइने रावणको अजङ्गको प्रतिमा भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजासाथ जलाशयमा पुर्‍याई गहिरो पानीमा विसर्जन गर्ने परम्परा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ