मेची र तमोर करिडोर अवरुद्ध, यात्रुहरू महँगो वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
1k
Shares
तेह्रथुम। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर सडक एक दर्जनभन्दा बढी स्थानमा अवरुद्ध बनेका छन्। यसले गर्दा ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका यात्रुहरू फिदिम–म्याङ्लुङ–धनकुटा–धरानको लामो र महँगो वैकल्पिक रुट प्रयोग गर्न बाध्य भएका छन्।
मेची राजमार्ग (ताप्लेजुङ–झापा) इलाम र माइखोला लगायतका स्थानमा अवरुद्ध छ भने पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने तमोर करिडोर सडक पनि विभिन्न स्थानमा अवरुद्ध बनेको छ।
यी प्रमुख सडक अवरुद्ध भएपछि यात्रुहरू (पाथीभरा दर्शनार्थी, बिरामी र अन्य कामले तराई तथा राजधानी फर्किनेहरू) वैकल्पिक मार्गको खोजीमा छन्। सोमबार मात्रै म्याङ्लुङ हुँदै करिब २०० को हाराहारीमा सवारीसाधनले यो वैकल्पिक मार्ग प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जानकारी दिएको छ।
यात्रुहरूले पाँचथर सदरमुकाम फिदिमबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरी तेह्रथुम सदरमुकाम म्याङ्लुङ पुग्छन् र त्यहाँबाट बसन्तपुर–हिले–धनकुटा हुँदै धरान वा काठमाडौँतर्फको यात्रा तय गर्छन्। तेह्रथुम यातायात प्रालिका इन्चार्ज मङ्गल बेघाका अनुसार ताप्लेजुङ र फिदिमबाट झापा, मोरङ, सुनसरी जाने यात्रुवाहक सवारीसाधन अहिले यही रुटबाट गइरहेका छन्।
तेह्रथुम भएर जाने वैकल्पिक रुटको १२० किलोमिटरमध्ये २४ किलोमिटर सडक कच्ची रहेको छ। सवारीसाधनको चाप बढ्ने अवस्थालाई ध्यानमा राख्दै फेदाप गाउँपालिकाले आइतबार कच्ची सडकको मर्मत गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले अहिले यो मार्ग सुरक्षित रहेको र धनकुटा हुँदै धरानसम्म यातायात सञ्चालनमा कुनै समस्या नरहेको बताएका छन्।