बाढीको पानीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
857
Shares
महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं ६ धबौली गाउँमा बुधबार बाढीको पानीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर-६ धबौलीका ११ वर्षीय सलमान साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।
साथीसँग जलेश्वर-६ मै अवस्थित परिक्रमा गाछी नजिकै रहेको लच्कामा आएको बाढीको पानीमा पौडी खेल्न गएका बालक साफीलाई तीव्र गतिमा बगिरहेको पानीले बगाएपछि उनी बेपत्ता भएका थिए ।
करिब दिउँसो २ः०० बजे बेपत्ता भएका बालक साफीका बारेमा सँगै गएका साथीहरूले गाउँटोलमा जानकारी गराएपछि घरपरिवार, टोलछिमेकी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलासपछि उनको शव लच्काभन्दा १०० मिटर दक्षिणमा पानीमै डुबेको अवस्थामा फेला परेको थियो ।
डुबेर मृत्यु भएको बालक साफीको शव अबेर साँझ परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा लगिएको छ । जलेश्वरमा गत शनिबार र आइतबार परेको अविरल वर्षापश्चात् रातो नदीको तटबन्ध भत्किएर ठूलो बाढी आएको थियो । रासस