arrow

पर्सा र बारामा हैजा विरुद्धको खोप अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
corona-vaccine3.jpg

काठमाडौँ । पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

सो जिल्लामा फैलिएको हैजाको महामारी तथा हालैको वर्षापछि आएको बाढीले ती क्षेत्रमा सिर्जना गरेको उच्च जोखिमलाई ध्यानमा राखी खोप अभियान सञ्चालन गरिने भएको हो ।

गत भाद्र ६ मा पर्साको वीरगञ्ज महानगरपालिका-१२ को मुरली टोलबाट सुरु भएको हैजाबाट हालसम्म पर्सा र बारामा एक हजार ६८५ बिरामी भएका छन् । 

“हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान, २०८२” का बारेमा आयोजित पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक लालले यही २०८२ असोज-कात्तिक महिनामा खोप अभियान सञ्चालन हुने जानकारी गराए । 

सो अभियान पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि शुरू भई तिहारअघि सम्पन्न गर्ने महाशाखाको योजना छ ।

सो खोप अभियानकालागि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारामा पठाउने तयारी गरेको जनाएको छ ।

निर्देशक लालकाअनुसार यस अभियानमा एक वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप दिइने छ ।

प्रतिकार्य स्वरुप सञ्चालन गरिन लागेको हैजाविरुद्धको खोप यस अभियानमा एक पटक दिइनेछ । यो खोप मुखबाट खुवाइने खोप हो र यो सुरक्षित रहेको महाशाखाले जनाएको छ ।

यो खोप एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्दछ । गर्भवती महिला र स्तनपान गराई रहने महिलालाई पनि यो खोप दिन सकिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ