क्यान्सरसँग लड्दै बाइडेन, विकिरण र हार्मोन थेरापी लिइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
2.4k
Shares
काठमाडौँ। अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनले प्रोस्टेट क्यान्सरसँग लड्नका लागि हाल विकिरण र हार्मोन थेरापी लिइरहेको उनका प्रवक्ताले जानकारी गराएका छन्। प्रवक्ताका अनुसार, प्रोस्टेट क्यान्सरको उपचार योजनाको एक भागका रूपमा बाइडेनले यी उपचारहरू गराइरहेका छन्।
गत मे महिनामा ८२ वर्षीय बाइडेनको कार्यालयले उनलाई हड्डीसम्म फैलिएको प्रोस्टेट क्यान्सरको आक्रामक रूप पत्ता लागेको घोषणा गरेको थियो। पूर्व राष्ट्रपति बाइडेनले क्यान्सरको पीडा सबैले महसुस गर्ने बताउँदै भनेका छन्, "तपाईंमध्ये धेरैले जस्तै जिल र मैले पनि थाहा पाएका छौँ कि हामी पीडा सहनका लागि सबैभन्दा बलियो स्थानमा छौँ।"
बाइडेनका छोरा ब्यू बाइडेनको सन् २०१५ मा क्यान्सरका कारण मृत्यु भएको थियो। उनले शुभेच्छुकहरूलाई प्रेम र सहयोगसहित प्रार्थना गरिदिकोमा धन्यवाद ज्ञापन गरेका छन्।
गत वर्ष डोनाल्ड ट्रम्पविरुद्ध दोस्रो पटक राष्ट्रपति पदका लागि चुनाव प्रचार गर्दा बाइडेनको स्वास्थ्य बिग्रँदै गएको अनुभव गरिएको थियो। सन् २०२४ जुलाईमा ट्रम्पसँगको बहसमा कमजोर प्रदर्शनपछि उनी दौडबाट बाहिरिने घोषणा गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका थिए।
यद्यपि ह्यारिस अन्ततः ट्रम्पसँग पराजित भइन् र ट्रम्पले सन् २०२५ को जनवरीदेखि आफ्नो दोस्रो कार्यकाल सुरु गरेका छन्। राष्ट्रपतिमा निर्वाचित ७९ वर्षीय ट्रम्पको पदबहालपछि शुक्रबार दोस्रो पटक स्वास्थ्य परीक्षण गरिएको छ।
अमेरिकी क्यान्सर सोसाइटीका अनुसार प्रोस्टेट क्यान्सर पुरुषहरूमा सबैभन्दा सामान्य क्यान्सर हो। अनुसन्धानले यो समस्या ८० वर्षभन्दा माथिका ८० प्रतिशत पुरुषको प्रोस्टेट ग्रन्थीमा हुने गरेको देखाउँछ। प्रारम्भिक चरणमा पत्ता लागे उपचार सम्भव भए पनि यो पुरुषमा क्यान्सरको मृत्युको दोस्रो प्रमुख कारण भएको सङ्गठनले जनाएको छ। हार्मोन थेरापी ट्युमर खुम्च्याउन र क्यान्सरको वृद्धिलाई ढिलो गर्न प्रयोग गरिने सामान्य उपचार हो, तर यो पूर्ण उपचार भने होइन।