arrow

विश्वविख्यात धावक केन्याका जोन केलाई नेपालगञ्जमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
ts-thakuri-82-6-26.JPG

नेपालगञ्ज । विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१०का स्वर्णपदकधारी केन्याका जोन केलाई नेपालगञ्ज आइपुगेका छन् । धारा नेपालगञ्ज म्याराथनको निमन्त्रणामा उनी नेपालगञ्ज आएका हुन् । 

धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी, रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ र संस्थापक सदस्य भिम ओलीले लिजेन्ड धावक जोनलाई स्वागत गरे । 

धारा नेपालगञ्ज म्याराथनकै भगिनी रनिङ इभेन्ट गौघाट ग्रीन रनमा अतिथि धावकका रुपमा सहभागी हुन उनी नेपालगञ्ज आएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । धावक केलाईले स्कुले धावकहरुलाई हौसला बढाउन सँगसँगै दौडनेछन् । 

धावक केलाई सन् २००३ देखि २०१० सम्म विश्वप्रतिष्ठित मुम्बई म्याराथन(भारत), इन्सेद म्याराथन(नेदरल्याण्ड्स), टोरन्टो वाटरफ्रन्ट म्याराथन(क्यानडा), सिंगापुर म्याराथन, ब्रसेल्स म्याराथन(बेल्जियम)का विजेता हुन् । उनलाई म्याराथनको विज्ञ मानिन्छ । 

बढ्दो तापक्रमका कारण विश्व पर्यावरणमा परेको नकारात्मक प्रभावका बारेमा ससाना बालबालिकालाई जानकारी गराउँदै प्लास्टिक रहित हरियाली गाउँ निर्माण गर्ने उद्देश्यले गौघाट ग्रीन रन गत बर्षदेखि खजुराको सितापुरमा सुरु गरिएको हो । 

असोज २८ गते मंगलबार बिहान ७ बजे हुने गौघाट ग्रीन रनमा खजुरा पालिका अन्तर्गतका विद्यालयबाट छात्र एवं छात्रा तथा खुल्ला छात्र छात्रा गरी चार विधामा स्पर्धा हुनेछ । ग्रीन अवधारणामा हुने नेपालमै सम्भवतः यो दौड नै हो । 

यसपटक एक सय जनाले भाग लिने रेस डाइरेक्टर गुरुङले बताए । गतबर्ष ४२ जनाले भाग लिएका थिए । ग्रीन रनमा ऐक्यवद्धता जनाउन मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान समेत सहभागी हुने आयोजकले जनाएको छ । 

मिस नेपाल श्रृच्छाको अध्ययन र रुचिको बिषयमा भएको हुँदा ग्रीन रनसँग जोडिएको एम्स दुत धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् । धावक जोन र मिस नेपाल श्रृच्छासँग सोमवार जनप्रतिनिधि, पत्रकार र नागरिक अगुवाको भेट गराइने आयोजकले जानकारी दिएको छ । 

धारा नेपालगञ्ज म्याराथनको ११औं संस्करण यही मंसिर ६ गते शनिबार हुनेछ । यसका लागि दर्ता खुला गरिसकिएको छ । यसपटक धारा नेपालगञ्ज म्याराथनमा प्रदर्शनका आधारमा खेलाडी तथा अन्य भुमिकामा रहेका व्यक्तित्वलाई विभिन्न अन्तर्राष्ट्रिय एक्सपोजर दिने तयारी गरिएको छ ।

यसका लागि वल्र्ड क्लास रनिङ इभेन्ट बाङ्सेन रनिङ सिरिज (थाइल्याण्ड)सँग औपचारिक सम्झौता समेत भएको छ । साथै अन्य म्याराथन आयोजकसँग यस्तै सहकार्यको तयारी अघि बढाइएको एम्स दुत ठकुरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ