भेटियो विश्वकै सबैभन्दा पुरानोमध्येको एक डायनोसरको अवशेष
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
2.3k
Shares
काठमाडौँ। अर्जेन्टिनाका वैज्ञानिकहरूले एन्डिज पर्वत क्षेत्रमा विश्वको सबैभन्दा पुरानो डायनोसर प्रजातिको अवशेष (हड्डी) फेला पारेको बताएका छन्। कोनिसेट अनुसन्धान निकायका अनुसार उत्तरपश्चिम अर्जेन्टिनामा तीन हजार मिटर (९,८४२ फिट) उचाइमा ह्वायराकुर्सर जागुएन्सिस नामक सानो लामो घाँटी भएको सरीसृपको लगभग पूर्ण कङ्काल फेला परेको हो।
वैज्ञानिक टोलीले डायनोसरको खोपडीको अंश, पुच्छरसम्म फैलिएको पूर्ण हाडहरूको स्तम्भ र अगाडिका तथा पछाडिका अङ्गहरू लगभग अक्षुण्ण अवस्थामा सङ्कलन गरेको कोनिसेटले जनाएको छ। शोधकर्ता अगस्टिन मार्टिनेलीका अनुसार यो प्रजातिले करिब २३० देखि २२ करोड ५० लाख वर्षअघि पृथ्वीमा जीवन बिताएको अनुमान गरिएको छ, जसले यसलाई विश्वको सबैभन्दा पुराना डायनोसरमध्ये एक बनाएको छ।
यो प्रजाति ट्रायासिक अवधिको अन्त्यसम्म बाँचेको थियो, जुन समयमा पहिलो डायनोसर र स्तनपायीका पुर्खाहरू देखा पर्न थालेका थिए। पत्ता लागेको ह्वायराकुर्सर जागुएन्सिस वयस्क अवस्थामा मात्र दुई मिटर लम्बाइको र करिब १८ किलोग्राम तौलको रहेको अनुमान गरिएको छ। नेचर पत्रिकामा प्रकाशित यो खोजले पृथ्वीको प्रारम्भिक जीवन र डायनोसरहरूको विकास क्रमबारे नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास गरिएको छ।