पौडेलको प्रस्ताव - सांसद र मन्त्री घटाऔँ, जिल्ला समन्वय समिति हटाऔँ
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
4.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको पुस्तान्तरण तथा रुपान्तरणसहितको प्रस्ताव प्रस्तुत गर्दै यसअनुसार अघि बढेमा पार्टीले आगामी चुनावमा बहुमत ल्याउन सकिने तर्क गरेका छन् ।
सानेपामा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो प्रस्ताव प्रस्तुत गर्दै उनले देशमा भएको जेनजी विद्रोहलाई शंकाका रुपमा नहेरी त्यसले उठाएका मुल मुद्दाको सम्बोधनमा क्रियाशील हुनुपर्ने बताए ।
जेनजी पुस्ताको विद्रोहमा उठेको भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता विषय जायज भएकाले यसलाई सम्बोधन गर्नु आवश्यक रहेको उनले बताए ।
‘हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको, भ्रष्टाचार मौलाएको तथा जनताप्रति उत्तरदायी हुन नसकेका कारण युवाहरुबाट यो विद्रोह भएको अर्थमा बुझ्नु मुलुकका लागि हितकर हुनेछ,’ उनले भने ।
जेन-जी विद्रोहलाई शंकाको दृष्टिले नहेरौँ
संसारभर सम्पन्न भएका र हुँदै गरेका युवा विद्रोहको प्रष्ट सन्देश सुदृढ लोकतन्त्र भएको उल्लेख गर्दै उनले यो विद्रोहबाट सबै भन्दा बढी लाभ नेपाली कांग्रेसले लिन सक्ने बताए ।
‘तर यसको लागि नेपाली कांग्रेसले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको वस्तुपरक बाटो रोज्नु पर्दछ,’ उनले भने ।
आफ्नो प्रस्तावलाई दस्तावेजीकरण गर्दै केन्द्रीय समितिमा दर्ता गरेका पूर्वमन्त्री पौडेलले भने, ‘हामीले देशमा भएको युवा विद्रोहलाई शंकाको दृष्टिबाट हेर्नु भन्दा त्यसमा उठेका मुख्य विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्ने प्रयास गर्नु जरुरी छ,’ उनले भने ।
यसो गर्न सकिएमा अहिलेको तरल अवस्थामा उत्पन्न हुने अस्थिरता र स्वार्थी तत्वको प्रवेशलाई नियन्त्रण गर्न सकिने समेत उनले बताए ।
नेता पौडेलले युवा विद्रोहका क्रमा भएका घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने पनि बताए ।
विद्यमान संकटको निकासमा राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाको प्रशंसा गरेका उनले पार्टी सभापतिप्रति भएको आक्रमणको निन्दा समेत गरे । नेता पौडेलले सभापतिद्वारा पार्टी बैठकमा २८ गते पेश गरिएको भनाइ जिम्मेवार रहेको भन्दै सोहीअनुसार पार्टी चल्नुपर्नेसमेत बताए ।
सांसद र मन्त्री पनि घटाऔँ, जिल्ला समन्वय समिति हटाऔँ
नेता पौडेलले अहिलेको संघ, प्रदेश तथा स्थानीय सरकार खर्चिलो भएका कारण धान्न समेत जटिल र नागरिकमा असन्तुष्टि बढेको भन्दै पुनर्संरचनाको प्रस्ताव गरेका छन् । उनले खर्च कटौती तथा छरितो सरकारको अवधारणा प्रस्तुत गरेर प्रतिनिधिसभा २०१ सांसद तथा मन्त्रिमण्डल बढीमा १५ जना बनाउनुपर्ने उल्लेख गरेका छन् ।
प्रदेश सभाको आकार ४० प्रतिशत कम गर्ने र प्रदेश मन्त्रीमण्डल बढीमा पाँच सदस्यीय बनाउने समेत पौडेलको प्रस्ताव छ ।
स्थानीय तह चार सयमा झारेर खर्च कटौती तथा प्रभावकारी सेवा दिन सकिने बताएका उनले जिल्ला समन्वय समितिको औचित्य नरहेको भन्दै खारेज गर्नुपर्ने उल्लेख गरेका छन् ।
नेता पौडेलले स्थानीय तहमा उपाध्यक्ष तथा उप प्रमुखजस्ता पद बोझिलो देखिएको भन्दै त्यसमा समेत कटौतीको प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा आधा उम्मेद्वार महिला अनिवार्य गर्दा समावेशिता र महिला सहभागिता पनि बढ्ने उल्लेख छ ।
तत्काल महाधिवेशनमा जाऔँ, कुनै बहानामा मिति नसारौँ
नेता पौडेलले आफ्नो प्रस्तावमा अहिलेको विद्रोहको सम्बोधन, विशेष महाधिवेशनको माग, युवाको संलग्नता वृद्धि तथा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५औँ महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन् ।
‘यसले मात्र तजा जनादेश सहितको नेतृत्व र नीति लिएर पार्टी नयाँ उर्जाका साथ अगाडि आउनेछ । नव युवाको प्रवेश बढनेछ । यसले मात्र देशको समस्या हल गर्ने सामथ्र्य राख्नेछ,’ उनको प्रस्तावमा छ । विशेष महाधिवेशनको प्रस्ताव गर्ने साथीहरूलाई धन्यवाद दिएका नेता पौडेलले अहिलेको अवस्थामा यो वा त्यो वहानामा पार्टी अधिवेशन पर म्याद थप्ने आदि विषयले पार्टी र देशलाई गम्भीर संकटमा धकेल्ने भएकाले त्यसतर्फ सोच्नु नहुने भन्दै एघाराैँ महाधिवेशन ६० दिनमा सम्पन्न भएकाले यो अवस्थामा सजिलै सकिने बताए ।
डीजी युथ काँग्रेस प्रस्ताव
पौडेलले पार्टीले पुस्तान्तरण र रुपान्तरणको युवा मुद्दा पार्टीले सम्बोधन गर्नुपर्ने भन्दै पार्टी नेतृत्वमा युवा सहभागिता वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले युवा सहभागीता वृद्धिका लागि डीजी युथ कंग्रेस गठनको अवधारणा प्रस्तुत गरेका छन् । यसले नयाँ पुस्ताको क्षमता र योग्यतालाई पार्टीमा जोड्ने काम गर्ने दावी गरे । साथै, पौडेलले वडादेखि केन्द्रसम्म युवा सहभागिता सुनिश्चित हुनेगरी नेतृत्व छनोटको प्रस्ताव गरेका छन् ।
एउटै सदस्यता प्रस्ताव, सदस्यलाई नै केन्द्रसम्मको नेतृत्व छान्ने अधिकार
नेता पौडेलले पार्टीको सदस्यता र नेतृत्व चयनमा समेत पुनर्संरचनाको प्रस्ताव गरेका छन् । उनले सहज र एउटै प्रकृतिको सदस्यता दिन प्रस्ताव गरेका छन् । क्रियाशिल सदस्यबाट प्रत्यक्ष रुपमै जिल्ला सभापति र केन्द्रीय सभापति तथा पदाधिकारी चयन हुने व्यवस्था गर्न सकिने उनको प्रस्ताव छ । यसले पार्टीलाई अझ बढी लोकतान्त्रिक र कार्यकर्तालाई थप शक्तिशाली बनाउने उनको तर्क छ ।
आगामी चुनावमा पार्टीको उम्मेद्वार छनोट पार्टीभित्रै प्राइमरीका आधारमा गर्नुपर्ने प्रस्ताव गरेका केन्द्रीय सदस्य पौडेलले पार्टीले प्रधानमन्त्रीको उम्मेद्वार तोकेर निर्वाचनमा जानुपर्ने प्रस्ताव राखेका छन् ।
४६ पछि पदमा बसेका सबैको सम्पत्ति छानविन गरौँ
नेता पौडेलले नेतृत्व परिवर्तनमात्र नभै पुस्तान्तरणसहितको नेतृत्व परिवर्तनमा जोड दिएका छन् । भ्रष्टाचारमा शून्य सहनशीलतामा जोड दिइएको पौडेलको प्रस्तावमा भ्रष्टाचार अन्तको कार्ययोजना पनि छ । नेता पौडेलले २०४६ पछि पदमा बसेका सबैको सम्पत्ति छानविन गर्न प्रस्ताव गर्दै र स्रोत पुष्टि नभएको सम्पति राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।
स्वास्थ्य बीमाको सुधारमार्फत समाजवाद
पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका पौडेलले आफूले मन्त्रीका रुपमा रहँदा स्वास्थ्य बीमामा सुविधा वृद्धि र विपन्न वर्गलाई राहतको सीमा बढाएर सुधार थलेको भन्दै उनले यसलाई पार्टीले आधिकारिक नीतिका रुपमा अघि बढाए स्वास्थ्यमा समाजवाद ल्याउन सकिने तर्क गरे । ‘हाम्रो पार्टीको नीतिअनुसारको समाजवाद स्वास्थ्य बीमा कार्यक्रमको सुदृढिकरणमार्फत प्राप्त हुन सक्छ,’ पौडेलले पेस गरेको प्रस्तावमा छ ।