arrow

केराका थामबाटै आम्दानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
banana-hawahuri.jpg

महोत्तरी। प्राचीन मिथिला क्षेत्र, महोत्तरीसहितका जिल्लामा मनाइने कृषिमैत्री पर्वहरू तिहार र छठका कारण केरा खेतीमा संलग्न किसानहरूलाई अतिरिक्त आर्जनको अवसर प्राप्त भएको छ। यी पर्वहरूमा केराको फल मात्र होइन, बिरुवाबाट निस्कने कोथाहरू (केराको थाम) समेत बिक्री हुने गरेका छन्।

तिहार र छठ दुवै पर्वमा केराको फल अनिवार्य पूजा सामग्रीमा पर्दछ। खासगरी छठमा त केराका घरी नै सूर्यदेवलाई अघ्र्य चढाइन्छ भने तिहारमा लक्ष्मीपूजाको दिन व्यापारिक प्रतिष्ठानहरूले लक्ष्मी प्रवेशद्वार बनाउन केराका थामको प्रयोग गर्छन्। यो चलनले गर्दा जिल्लाका मुख्य बजारहरूमा केराका थामको बजार निकै जम्ने गरेको छ। कतिपय व्यापारीले त थामबापतको अग्रिम रकमसमेत दिएका छन्, जसले गर्दा किसानलाई पर्वका सामग्री खरिदमा सहयोग पुगेको छ। भङ्गाहा–४ का किसान रामधारीसिंह थारूले थामबापत 'बैना रकम' नै पाँच हजार रुपैयाँ लिइसकेको बताएका छन्।

किसानहरूका अनुसार राम्रो फलका लागि एक झ्याङमा तीनवटाभन्दा बढी कोथा बढाउन नहुने भएकाले उखालेर फाल्नुपर्ने बढी भएका कोथाहरू यसबेला बिक्री हुने हुँदा यो अवसर उनीहरूका लागि 'पुरस्कारजस्तै' बन्ने गरेको छ। यसरी उखाल्न लाग्ने खर्चको बचतसँगै आम्दानी हुने भएकाले किसानहरू यी पर्वलाई 'केराको अमृत बेला' भन्ने गर्छन्। वर्षभरिमा एउटा केराको झ्याङमा पाँचसातवटासम्म कोथा निस्कन्छ र यसबेला स्वागतद्वारका लागि प्रयोग गरिने कोथा जोडीको रु तीन सयसम्म पाइने गरेको छ। भङ्गाहा–६ का सुवालाल राय यादवले पछिल्ला तीन वर्षयता कोथा बेचेर मात्रै सालाखाला रु १० हजार पाएको बताएका छन्।

मिथिला संस्कृतिमा तिहार र छठका अवसरमा केराका थामलाई शुभफलदायी मानिन्छ र यसको स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वास गरिन्छ। यद्यपि, जिल्लामा केरा खेतीका लागि अनुकूल हावापानी भए पनि यसको व्यावसायिक खेती भने निकै कम (दुई सय ८० हेक्टरमा मात्र) भइरहेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ। कार्यालयले किसानले तत्परता देखाएमा प्राविधिक सहयोगसहित उन्नत जातका बिरुवा सुलभ मूल्यमा उपलब्ध गराउन पहल गर्ने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ