मेची राजमार्गको राजदुवाली खण्ड १४ दिनपछि खुल्यो: पहाड दबिने जोखिम कायमै
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
906
Shares
इलाम। इलाममा मेची राजमार्गको अवरुद्ध राजदुवाली खण्ड १४ दिनपछि शनिबार राती ९ बजेबाट सञ्चालनमा आएको छ। गत असोज १८ गतेको अविरल वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार, तत्कालका लागि यातायात सहज बनाउन पहिरोलाई भिरालो बनाई सम्याइएको छ र भित्रको पानी अस्थायी रूपमा पाइपमार्फत निकालिएको छ। सडकमा खोलाको रोडा प्रयोग गरेर पेल्दै यातायात सञ्चालनको तयारी गरिएको हो। यद्यपि, प्रमुख भट्टराईले पहिरोमाथिबाटै सडक निर्माण भएको कारण सामान्य दबिनु स्वाभाविक रहेको र यातायात चलिरहँदा पनि सडक दबिने सम्भावना भने कायमै रहेको बताएका छन्।
पहिले एक पटक सञ्चालनमा आएर सडक दबिएपछि पुनः अवरुद्ध भएको थियो र वैकल्पिक रूपमा सिमल गोलाई हुँदै माईजोगमाई गाउँपालिका निस्कने बाटो प्रयोगमा ल्याइएको थियो। सो साँघुरो वैकल्पिक मार्गमा समेत सवारी साधन फस्ने समस्या बढेपछि मुख्य राजमार्ग खोल्न दबाब परेको थियो।
सडक डिभिजन इलामका सूचना अधिकारी अर्जुन घिमिरेका अनुसार, विज्ञको सल्लाहअनुसार काम भइरहेको छ र पहिरोमा धाँजा फाँटे पनि फुको माटो खाँदिने भएकाले पहिलेभन्दा सडक दब्न कम हुने विश्वास गरिएको छ।
यसैगरी, वैकल्पिक मार्गमा पर्ने जोगमाई खोलाको बेलिब्रिज असोज १८ को बाढीले बगाएपछि होम पाइप लगाएर सडक सञ्चालन गरिएको थियो। राजदुवाली खण्ड सञ्चालनमा आएसँगै ठूला र साना सवारीसाधनका लागि यात्रा सहज भएको छ। यसअघि झापाको बेलासे हुँदै इलाममा जोडिने सडकमा पर्ने पुवा खोलाको बेलिब्रिज र माई खोलाको पक्की पुल दबिएपछि वैकल्पिक मार्गबाट समेत यातायात सञ्चालन गर्न समस्या भइरहेको थियो।