कांग्रेसको विशेष महाधिवेशन पक्षधरको केन्द्रीय समितिको बैठकलाई ध्यानाकर्षण [पत्रसहित]
हालको केन्द्रीय कार्यसमिति आफ्नो म्याद थप गर्न उद्दत रहेको आरोप
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
914
Shares
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले हालको केन्द्रीय कार्यसमिति आफ्नो म्याद थप गर्न उद्दत रहेको बताएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता गुरूराज घिमिरेलगायत विशेष महाधिवेशन माग गरेका पक्षधरहरूले हालको केन्द्रीय कार्यसमिति आफ्नो म्याद थप गर्न उद्दत रहेको आरोप लगाएका हुन् ।
उनीहरुले म्याद थप्नकै लागि विभिन्न बहाना बनाएर चालु रहेको केन्द्रीय कार्यसमिति बैठक पनि कात्तिक १३ गतेसम्म स्थगित गरिएको दाबी गरेका हुन् ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक गत असोज २८ गतेदेखि शुरू भए पनि निष्कर्षमा नपुगी कार्तिक १३ गतेसम्मका लागि स्थगित गरिएको हो ।
नेता घिमिरेसहितको अगुवाइमा १४ औँ महाधिवेशनका ५३ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले कांग्रेस विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते नै हस्ताक्षर बुझाएका थिए।
उक्त महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर आइसकेपछि पनि कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशन बोलाउन चाहिरहेको छैन । पार्टी सभापति शेरबहादुर देउवाले कार्यकारी पदबाट हटेर खड्कालाई कार्यवाहक तोकेको भए पनि उनीसहितको संस्थापन टिम महाधिवेशन पछाडि धकेल्न खोजिरहेको छ ।
जबकि पार्टीको नियमित महाधिवेशन नै आगामी मंसिरभित्र हुनुपर्ने हो । २०७८ सालमा सँगसँगै महाधिवेशन गरेका कम्युनिष्ट पार्टीहरुले समेत महाधिवेशनको मिति तोकिसकेका छन् ।
नियमित महाधिवेशन नगरे विशेष महाधिवेशन भए पनि गरेर नेतृत्व परिवर्तन गरी आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावमा होमिनुपर्नेमा संस्थापन इतर पक्षको जोड छ ।
४० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले माग गरे विशेष महाधिवेशन डाक्नुपर्ने विधानमा उल्लेख छ ।
यस्तो छ हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरुको सम्बोधनसहित पाँच बुँदे ध्यानाकर्षण पत्र -
आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू
एवं पत्रकार मित्रहरु,
जय नेपाल ।
यतिबेला हामी नेपालको राजनीतिक इतिहासको गम्भीर, संवेदनशील र महत्त्वपूर्ण मोडमा छौ । गत भदौ २३ र २४ गते पश्चात् नेपालको राजनीति नयाँ र विशिष्ट चरणमा प्रवेश गरेको छ । जेनजी आन्दोलन मार्फत नेपाली समाजको वस्तुस्थिति, मनोभावना र चाहना एकमुष्ट रुपमा मुखरित भएको छ । नयाँ पुस्ताले देखाएको उत्साह, प्रदर्शन गरेको अग्रसरता र न्यौच्छावर गरेको बलिदानले नेपाली समाजलाई युगौंसम्म प्रोत्साहित, रोमाञ्चित, उद्वेलित र मार्ग निर्देशित गरिरहने छ भन्ने हामीलाई लागेको छ। साथै यसले बिश्व राजनीतिलाई समेत प्रेरणादायी रचनात्मक सन्देश समेत प्रवाहित गरेको छ । सँगसँगै यस दौरान भएका तोडफोड, आक्रमण, ध्वंश र आगजनी जस्ता उग्र क्रियाकलापहरु निन्दनीय छन्, जसले हामी सबै नेपालीहरुलाई सदा बिझाइ रहनेछ ।
यतिखेर सबै सचेत नेपालीहरुको एउटै चासो र चिन्ता छ । अब नेपाली राजनीति कसरी अघि बढ्ला? फाल्गुण २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचन होला कि नहोला? राजनीतिक दलहरुभित्रको उकुसमुकुसले कस्तो निकास पाउला? यसै परिप्रेक्ष्यमा बदलिँदो राजनीतिक परिवेशलाई आत्मसात गर्दै हामी नेपाली कांग्रेसका महाधिवशेन प्रतिनिधीहरूले पार्टी बिधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिसकेका छौ र जारी केन्द्रीय समितिको बैठकलाई सुक्ष्म रुपमा नियालिरहेका छौ ।
यस सन्दर्भमा नेपाली कांग्रेसको उज्ज्वल र सुरक्षित भविष्य चाहने महाधिवेशन प्रतिनिधि साथीहरू जसले पार्टीको बृहत्तर हितका लागि आफ्नो हस्ताक्षर मार्फत पार्टीको समग्र रुपान्तरण गर्ने संकल्प लिनु भएको छ, उहाँहरुलाई हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छौं । राष्ट्रिय राजनीति तिब्रताका साथ अघि बढिरहेको बेला पार्टी महाधिवेशन आयोजनामा बिलम्ब गर्ने, अल्मलिने र पार्टीको नेतृत्व र नीति चयन गर्न ढिलाइ गर्ने सुविधा हामीसँग छैन । गत असोज २८ बाट प्रारम्भ भएको केन्द्रीय समितिको बैठक अस्वाभाविक रुपमा लम्ब्याउने र टुङ्गिने समेत अनिश्चित देखिनुले कार्यसमितिको मनसाय मंसिरभित्र नियमित महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्ने तर्फ उद्दत देखिन्छ । वर्तमान केन्द्रीय समितिको यस्तो चाल र प्रबृत्ति आपत्तिजनक छ।
असोज ३१ गते नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एवं नेपाल बिद्यार्थी संघका संस्थापक सदस्य श्रद्देय नेता ऋषिकेश गौतमको निधनबाट हामी मर्माहत भएका छौं। नेपालको
प्रजातान्त्रिक आन्दोलनमा उहाँले पुऱ्याउनु भएको योगदान चीरस्मरणीय रहनेछ । दुःखको यस घडीमा उहाँको अमर आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकलाई हाम्रो ध्यानाकर्षण
१) पार्टी बिधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरुमा निहित रहेकोले कुनै पनि कारण देखाएर यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि छैन ।
२) पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिको असफलताको मानक स्वरुप नेपाली राजनीतिमा धेरै घटना/दुर्घटनाहरु भएको पृष्ठभूमि हाम्रो सामु छ । तसर्थ यस कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीलाई नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेको छ।
३) आगामी फाल्गुण २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशन मार्फत नयाँ नीति र नेतृत्व चयन गरि आगामी चुनावमा जानुपर्ने राष्ट्रिय आवश्यकता महसुस गरि विशेष महाधिवेशनको माग गरिएको हो । यसभन्दा उत्तम हामीसँग अर्को बिकल्प छैन । तसर्थ यस मागप्रति गम्भीर रहन र कार्यान्वयन तर्फ अग्रसर रहनु अनिवार्य आवश्यकता रहेको व्यहोरा पुनः स्मरण गराउन चाहन्छौं ।
४) विगतका निर्वाचनमा नेपाली कांग्रेस पार्टीले महाधिवेशन मार्फत पार्टी भित्र नयाँ जनादेश लिएर नवनिर्वाचित केन्द्रीय कार्यसमितिले नै निर्वाचन हाँकेको इतिहास छ। त्यही भएर अहिले पनि आगामी मंसिरभित्र विधिवत महाधिवेशन गरि नयाँ कार्यसमितिको चयन आजको अपरिहार्यता हो ।
५) केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी विधानको मूलभावना, मर्म र क्षेत्राधिकार विपरीत केही सदस्यहरुले आफ्ना धारणा राख्नु आपत्तिजनक छ । केन्द्रीय सदस्यहरूका यस्ता अभिव्यक्तिले केन्द्रीय कार्य समिति पार्टीको मूल जिम्मेवारीबाट भाग्न खोजेको र बरालिएको महसुस गरेका छौं । अतः विशेष महाधिवेशनको मागलाई बैधानिक, समयसापेक्ष र स्वाभाविक आवश्यकताको रुपमा ग्रहण गरि कार्यान्वयन तर्फ अघि बढ्न आग्रह गर्दछौं ।
धन्यवाद ! जय नेपाल !!
२०८२ साल कार्तिक २ गते आइतबार