बाबरको राजीनामापछि अफ्रिदीलाई नयाँ कप्तानको जिम्मेवारी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
1.3k
Shares
काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसिबी) ले तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई आगामी महिना दक्षिण अफ्रिकाविरुद्ध हुने तीन खेलको एकदिवसीय शृङ्खलाका लागि कप्तानको जिम्मेवारी दिएको छ। बाबर आजमको राजीनामापछि गत अक्टोबरमा मोहम्मद रिजवानले एकदिवसीय क्रिकेटको कप्तानको जिम्मेवारी सम्हालेका थिए।
पीसिबीले इस्लामावादमा भएको बैठकपछि शाहीनलाई नियुक्त गरेको जनाएको छ। पीसिबीले जारी गरेको विज्ञप्तिमा पाकिस्तानका मुख्य प्रशिक्षक माइक हेसनको उपस्थितिमा छनोट समितिले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय टोलीको कप्तानी शाहीनले गर्ने निर्णय गरेको उल्लेख छ। तीन खेलको एकदिवसीय शृङ्खला नोभेम्बर ४, ६ र ८ मा फैसलाबादमा हुनेछ।
मोहम्मद रिजवानले सन् २०२४ नोभेम्बरमा अस्ट्रेलियामा पाकिस्तानलाई २२ वर्षमा पहिलो शृङ्खला जिताएर एकदिवसीय कप्तानको रूपमा राम्रो सुरुवात गरेका थिए। त्यसपछि पाकिस्तानले दक्षिण अफ्रिकालाई ३–० ले हराएको थियो भने जिम्बावेमाथि २–१ को जित निकालेको थियो। यद्यपि, यसै वर्ष पाकिस्तान घरेलु त्रिकोणात्मक सिरिजको फाइनलमा न्युजिल्यान्डसँग पराजित भएको थियो र फेब्रुअरीमा च्याम्पियन्स ट्रफीको पहिलो चरणबाटै बाहिरिएको थियो। रिजवानको कप्तानीमा सबैभन्दा खराब प्रदर्शन वेस्ट इन्डिजमा देखियो, जहाँ पाकिस्तानले २–१ ले हार बेहोरेको थियो। यो हार पाकिस्तानले ३४ वर्षपछि क्यारेबियन राष्ट्रसँग पहिलो शृङ्खला गुमाएको थियो।
शाहीनले यसअघि गत वर्ष जनवरीमा न्युजिल्यान्डमा ट्वान्टी–२० अन्तर्राष्ट्रियका पाँच खेलमा पाकिस्तानको कप्तानी गरेका थिए तर न्युजिल्याण्डसँग ४–१ ले पराजित भएपछि उनी टोलीबाट विदा भएका थिए।