पाथीभरा मन्दिरमा यस वर्षकै सबैभन्दा धेरै दर्शनार्थी
एकै दिन ६ हजारभन्दा बढीले गरे पूजा
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
935
Shares
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यस यामको सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन ६ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे।
भक्तजनहरू बिहान ३ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर पूजाअर्चना गरेका थिए। पाथीभरामा वर्षभरि नै भक्तजनको आगमन हुने गरे तापनि विशेषगरी दसैँ-तिहारको समयमा तुलनात्मक रूपमा धेरै भक्तजन आउने गर्दछन्। चैतेदसैँको आसपासमा पनि ठूलो सङ्ख्यामा भक्तजनहरू पुग्ने गर्छन्।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले दिएको जानकारी अनुसार, यसअघि गत असोज महिनाभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए। उहाँले आज (आइतबार) पनि पाथीभरामा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिएको बताउनुभयो।