गुल्मी। गुल्मीको मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले दिएको जानकारी अनुसार, मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङका १९ वर्षीय सहचालक मेघराज पुन रहेका छन्।
गए राति मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा कार्यालयतर्फ आइरहेको रा१त ३५०२ नम्बरको ट्याक्टर उकालोमा लोड तान्न नसकेर पछाडि सर्दै जाँदा ब्रेकले काम नगरेपछि दुर्घटना भएको थियो।
प्रहरीका अनुसार, ट्याक्टरबाट हामफाल्ने क्रममा बाटोबाट उछिट्टिएर गम्भीर घाइते बनेका पुनको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो।
ट्याक्टर चालक मदाने–१ अग्लुङ निवासी २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।