arrow

ताप्लेजुङका हिमालहरूमा आरोहणको उत्साह बढ्यो, 'ह्वाइट वेभ पिक' को पहिलो सफल आरोहण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
kanchanjunga-himals.jpg

फुङ्लिङ (ताप्लेजुङ)। पछिल्लो समय ताप्लेजुङस्थित विभिन्न हिमालहरूको आरोहणमा उत्साहजनक सुरुआत भएको छ। गत असोज महिनाको दोस्रो साता फ्रान्सेली दुई नागरिकले ६ हजार ८०८ मिटर उचाइको 'ह्वाइट वेभ पिक' को पहिलो पटक सफल आरोहण गरेका छन्। अन्नपूर्ण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिशनका तेन्जी शेर्पाका अनुसार, आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चाल्र्स इली वेद्रिन्स र निकोलस पाउल अरीस्टाइड रहेका छन्।

विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो ७ हजार ७१० मिटर उचाइको कुम्भकर्ण (फक्ताङलुङ) हिमाल आरोहण गर्नका लागि फ्रान्सका तीन नागरिक सो हिमालको आधार शिविर क्षेत्रमा पुगेको पर्यटन सहायक शेर्पाले जानकारी दिएका छन्। विसं २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेको इतिहास रहेको छ।

पछिल्ला वर्षहरूमा यहाँका हिमालहरूमा आरोहण उत्साहकासाथ हुन थालेको छ। गत साता चिलीका एक नागरिकले कञ्चनजङ्घा हिमालको काखमै रहेको पाथीभरा हिमालको सफल आरोहण गरेका थिए। यसअघि गत वर्षको कात्तिकमा चारजना दक्षिण कोरियन नागरिकले ६ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ हिमालको पहिलो पटक सफल आरोहण गरेका थिए भने चैतमा चिलीका एक नागरिक हर्नान लीलसहित पर्वतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले ६ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलो पटक आरोहण गर्न सफल भएका थिए।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार, गत भदौ महिनाको तेस्रो सातादेखि मङ्सिर १५ गतेसम्म कञ्चनजङ्घा भ्रमण याम रहने क्रममा हालसम्म ३०० जना विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण गरिसकेका छन्। पर्यटन विभागका अनुसार, गत वर्षको याममा ४१ जनाले ८ हजार ५५६ मिटर उचाइको कञ्चनजङ्घा हिमालको चुचुरोमा सफलतापूर्वक आरोहण गरी रोयल्टीवापत एक करोड ९७ हजार ४६० रुपैयाँ सङ्कलन भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ