arrow

कटहरियाका कर्मचारीले आन्दोलन गरेपछि कामकाज प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
katahariya-nagarpalika-andolan.jpg

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा रहेका कर्मचारीहरू पुन आन्दोलित भएका छन् । नगरपालिकामा कार्यरत करार र ज्यालादारीका कर्मचारीहरूले लामो समयदेखि तलब भत्ता नपाएको भन्दै बुधबारदेखि कार्यलयमा तालाबन्दी गरेका हुन् ।

दीपावली तथा छठ पर्व अगावै भुक्तानी गर्ने भनिएको भए पनि रकम अझै नआएकाले आन्दोलित हुनु परेको उनीहरूको भनाइ छ । 

नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय र नगरपालिकाको मूल कार्यालयमा तालाबन्दी गरिएको कटहरिया नगरपालिका वडा नं ८ का कर्मचारी मुकुन्द यादवले बताए ।

उनका अनुसार छठ पर्व अघि नै तलबभत्ता दिने आश्वासन पाए पनि अहिलेसम्म नपाएको हो ।

‘लामो समयदेखि नगर सेवामा समर्पित छौँ’, उनले भने, ‘तर समयमा तलबभत्ता नपाउँदा अहिले दैनिक जीवन प्रभावित भएको छ ।’ 

आफूहरूको  तलबको रकम भुक्तानी नहुँदासम्म आन्दोलन जारी राख्ने उनले चेतावनी दिए ।

कटहरिया नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले असोजमा दिएको लिखित आश्वासन कार्यान्वयन नगरेको उनको आरोप छ । 

यता, नगरप्रमुख अजय प्रकाश जयसवालले करारका कर्मचारीको मागप्रति गम्भीर रहेको बताएका छन् ।

यद्यपि विभिन्न समस्याका कारण तलबभत्ता भुक्तानी नभए पनि यथाशीघ्र दिने प्रतिवद्वता जनाए ।

कटहरिया नगरपालिकामा भएको आन्दोलनका कारण कामकाज प्रभावित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ