काठमाडौँ। चिनियाँ विद्युतीय सवारी साधन (कार) निर्माता विशाल प्रविधि कम्पनी बीवाइडीले बिहीबार आफ्नो तेस्रो त्रैमासिक खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले घटेको बताएको छ। यो यस वर्ष कम्पनीको लगातार दोस्रो त्रैमासिक गिरावट हो।
कम्पनीका अनुसार तेस्रो त्रैमासिकको लागि खुद नाफा ७.८ अर्ब युआन (१.१ अर्ब डलर) रहेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३२.६ प्रतिशतले कम हो। चीनको सेन्जेनमा रहेको यस कार निर्माता कम्पनीले सोही अवधिमा १९५ अर्ब युआनको राजस्व कमाएको थियो, जुन गत वर्षको तुलनामा तीन प्रतिशतको सामान्य कमी हो।
चीनको विद्युतीय सवारी साधन उद्योग विश्वको अग्रणी भए तापनि सुस्त घरेलु खपत र आत्मघाती घरेलु बजार प्रतिस्पर्धाले कम्पनीको नाफामा असर पारेको छ। घरेलु बजारमा देखिएको सुस्त कारोबारका कारण बीवाइडीसहित धेरै चिनियाँ कम्पनीहरू आफ्नो नाफा वृद्धि तथा सन्तुलन कायम गर्नका लागि अहिले विदेशी बजारमा विस्तार गर्न खोज्दैछन्।
विद्युतीय कार उद्योगमा प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। यसअघि बीवाइडीले व्यापक किस्ताबन्दी योजना र छुटको घोषणा गरेको एक हप्तापछि मे महिनामा चीनको शीर्ष उद्योग समूहले चिनियाँ वाहन निर्माताहरूबीच मूल्य युद्धलाई बढावा दिएकोमा कम्पनी आलोचित भएको थियो।