भीमफेदी कारागारबाट २६ विदेशीसहित १५४ कैदीबन्दी अझै फरार
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
754
Shares
बागमती। मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट गत भदौ २४ गते राति फरार भएका ४४० कैदीबन्दीमध्ये अझै १ सय ५४ जना फरार रहेको कारागारले जनाएको छ।
कारागार प्रमुख सुवास पौडेलले दिएको जानकारी अनुसार, पर्खाल भत्काएर भागेका ३९ विदेशी कैदीबन्दीमध्ये १३ जना मात्र कारागार फर्किएका छन् र २६ जना विदेशी कैदीबन्दी अझै फरार छन्। कुल फरार कैदीबन्दीको सङ्ख्या ४४० रहेकोमा हालसम्म २ सय ८६ जना मात्र कारागार फर्केका छन्।
फरार कैदीबन्दीहरूले कारागारको तीन वटा गेट फुटाएर पश्चिमतर्फको पर्खाल भत्काएका थिए। उनीहरू (क) ब्लकबाट २६० र (ख) ब्लकबाट १८० गरी कुल ४४० जना फरार भएका थिए।
यसैबीच, अन्य कारागारबाट भागेर भीमफेदी कारागार फर्किएका ७१ जना कैदीबन्दीमध्ये ३५ जनालाई स्थानान्तरण गरिएको र ३५ जना अहिले भीमफेदी कारागारमै रहेको प्रमुख पौडेलले बताए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले फरार कैदीबन्दीको खोजी कार्यलाई तीव्रता दिइएको जानकारी दिएका छन्।