रोल्वालिङ हिमश्रृङ्खलामा हिमपहिरो: पाँच जनाको उद्धार, सात अझै बेपत्ता
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
845
Shares
दोलखा । दोलखा जिल्लाको रोल्वालिङ हिमश्रृङ्खलामा खसेको हिमपहिरोमा परी घाइते भएका पाँच जनाको आज हेलिकोप्टरमार्फत उद्धार गरियो। उद्धार गरिएकाहरूमा दुई विदेशी र तीन नेपाली नागरिक रहेका छन्।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले यलुङरी हिमालको आधार शिविरबाट पाँचै जनालाई उद्धार गरिएको जानकारी दिए। उनका अनुसार, हिमपहिरोबाट जोगिएका थप तीन नेपाली पथप्रदर्शकलाई ना गाउँमा सुरक्षितरूपमा राखिएको छ र उनीहरूको पनि केहीबेरमा उद्धार गरिने प्रजिअ रिसालले बताए।
डोल्मा खाङ र यलुङरी हिमाल आरोहणका लागि दुई ट्राभल कम्पनीमार्फत आधार शिविर पुगेका पाँच विदेशीसहित १५ आरोही टेन्ट टाँगेर बसेको स्थानमा सोमबार बिहान हिमपहिरो खसेको थियो। हिमपहिरोमा पुरिएर एक विदेशीसहित ३ जनाको मृत्यु भएको थियो भने ७ जना अझै बेपत्ता छन्। बेपत्ता भएकाहरूको अवस्था हालसम्म थाहा हुन नसकेको प्रजिअ रिसालले बताए।
उद्धार कार्यका लागि नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली ना गाउँ गएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।