संविधानमा लेखिएका विषयमा नभई दलहरूको व्यवहारमै समस्या [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
952
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले दलहरूको गम्भीर त्रुटिको कारण मुलुक राजनीति संकटबाट गुज्रिरहेको भन्दै दलहरू सच्चिनुको विकल्प नभएको टिप्पणी गरेका छन् । बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले दलहरूले एउटै नेतृत्वलाई निरन्तरता दिएर राज्यसत्तामा पुर्याउने प्रवृत्तिका कारण मुलुकमा विद्यमान समस्याको हल हुन नसकेको बताए ।
उनले जनतामा अलोकप्रिय पात्रलाई पार्टीभित्र लोकप्रिय भएकै कारण नेतृत्वमा निरन्तरता दिन नहुनेमा जोड दिए । उनले जेन-जी पुस्ताले संवैधानिक आयोगमा राजनीतिक नियुक्ति गर्न नहुने माग अघि सारेको स्मरण गर्दै सोहीअनुरुप व्यवहार गर्न जरुरी रहेको पनि बताए ।
राजनीतिक दलहरूले संविधानअनुरुप व्यवहार नगरिरहेको आरोप पनि लगाए । उनले संविधानमा लेखिएका विषयमा नभई दलहरूको व्यवहारमै समस्या रहेको पनि बताए ।
उनले भने, ‘पुराना राजनीतिक दलहरूमा त्रुटि देखिएको छ । सच्चिनुपर्ने आवश्यकता देखिएको छ । मुख्यगरी दलको नेतृत्व लामो समयदेखि राज्यसत्तामा बसेर शक्तिशाली बनिरहेको छ त्यही नेतृत्वलाई निरन्तरता दिने प्रयास दलहरूले प्रयोग गरेको स्थिति छ । पार्टीमा नेतृत्व लोकप्रिय हुने जनतामा उक्त नेतृत्व अलोकप्रिय हुने पार्टीमा नेतृत्वलाई निरन्तरता दिई लोकप्रिय राखिराख्नका लागि जनताका आवाज उठाइरहनु नपर्ने हो कि ? त्यो एउटा गम्भीर प्रश्न छ । यो जेन-जी आन्दोलनले नै संवैधानिक नियुक्तिहरू राजनीति ढंगले हुनु भएन भन्ने माग अघि सार्नुभयो । कुरा के हो त भन्दा संविधानअनुरुप दलहरूले व्यवहार गरिरहेका छैनन् । संविधानकै लेखिएका कुराहरू समस्या हुनभन्दा पनि व्यवहार समस्या हो । त्यसकारण दलहरूको प्रवृक्ति परिवर्तन गर्न आवश्यक छ । अझैपनि परिवर्तनको लागि लेखिने त डकुमेन्ट नै हो । ती लेखिएका कुराहरू व्यवहारमा कसरी लागु हुन्छन् ? त्यो महत्वपूर्ण कुरा हो ।’
उनले जेनजी पुस्तालाई पार्टीमा समावेश गर्न कांग्रेसले खुकुलो नीति अंगाल्ने पनि बताए ।