यूएई श्रृंखलामा नेपालको बिर्सनयोग्य प्रदर्शन, सबै चार खेलमा पराजित
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
1k
Shares
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलामा नेपालले बिर्सनयोग्य प्रदर्शन गरेको छ । नेपालले यूएईमा खेलेका सबै चार खेलमा पराजय बेहोरेको छ ।
नेपाललाई अमेरिका र यूएईले दुई दुई खेलमा हराएका हुन् ।
चौथो खेलको नतिजा
चौथो तथा अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भयो । जितका लागि नेपालले २४० रनको चुनौती दिएमा यूएईले पाँच बल खेल्न बाँकी छँदै सबै ६ विकेटको क्षतिमा जित हासिल गर्यो ।
यूएईका लागि मुहम्मद शादादले ९६ तथा मुहम्मद वासीमले ७६ रन बनाए । नेपालका लागि करण केसीले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनायो । भिम शार्कीले ४८ तथा कुशल मल्लले ४५ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए ।
तेस्रो खेलमा नेपाल अमेरिकासँग पराजित
नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो । २७२ रनको चुनौती अमेरिकाले ४९ ओभरमै ६ विकेटको क्षतिमा पूरा गर्यो । टिमलाई ४ विकेटले जिताउने क्रममा साइतेजाा मुकम्मलले ७५ तथा मिलिन्दकुमारले ७० रन जोडे ।
५ बलमा अविजित १३ रन बनाएका हरमित सिंह प्लेयर अफ द म्याच भए । उनले ३३ रन खर्चेर ३ विकेट लिएका थिए ।
यसअघि खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै दिपेन्द्र सिंह ऐरी र करण केसीको आक्रामक ब्याटिङले एक बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २७१ रन बनायो । दिपेन्द्रले ६७ बलमा ७५ रन बनाए । करण केसीले झनै आक्रामक खेल्दै ३१ बलमा ४९ रन जोडे ।
त्यस्तै कुशल भुर्तेलले ६५ बलमा ४७ रन जोडे । भिम शार्कीले ५८ बलमा ४३ तथा कप्तान रोहित पौडेलले ४६ बलमा ३६ रन जोडे । हर्मित सिंहले ३ विकेट लिए ।
पहिलो खेलमा नेपाल अमेरिकासँग सहजै पराजित भएको थियो । यो हारले भने नेपालको लिग-२ दुःखद हुने देखिएको छ ।
दोस्रो खेलमा यूएईसँग पराजित
दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपाल ५ विकेटले पराजित भयो ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा २३४ रनको चुनौती यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । आर्यान्श शर्माले ९८ बलमा ९८ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।
यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै कप्तान रोहित पौडेलको शतकमा सबै विकेट गुमाएर २३३ रन बनायो । रोहितले संयमित ब्याटिङ गर्दै १३० बलमा १०९ रन बनाए ।
उनले ३ वर्ष ७ महिनापछि एक दिवसीयमा दोस्रो शतक बनाए । यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका थिए ।
आसिफ शेखले ३५ तथा आरिफ शेखले २७ रनको योगदान दिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए । जुनैद सिद्दिकीले ३ तथा जहिद अलीले २ विकेट लिए ।
लिग–२ मा नेपालले अहिलेसम्म उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । जारी श्रृङ्खलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ।
अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो। अमेरिकाले यूएईलाई पनि चार विकेटले हराइसकेको छ।
पहिलो खेलको नतिजा
पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईको मैदानमा भएको खेलमा नेपालले टस जिते पनि खेल हारेको छ ।
नेपाल १०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । पहिले बलिङ नचलेको नेपालको ब्याटिङ त्यो भन्दा पनि खराब भएसँगै फराकिलो अन्तरले पराजित भएको हो ।
नेपालले टस जितेर पहिले बलिङ रोजेसँगै ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो ।
अमेरिकाका लागि ओपनिङ ब्याट्सम्यान स्मित पटेलले ७५ तथा मिलिन्द कुमारले अविजित रहँदै ७० रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।
जवाफमा नेपालले ३९.१ ओभरमात्र क्रिजमा टिकेर १५६ रन बनाउन सक्यो । दिपेन्द्र सिंह ऐरीले ४०, आसिफ शेखले ३७, भिम सार्कीले २९, आरिफ शेखले २० तथा सोमपाल कामीले ११ रन बनाए बाहेक अन्य खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।
आपसका पछिल्ला चार भिडन्तमा नेपाल एकपटकमात्र विजयी भएको नेपालको हारको श्रृंखला अब ४-१ को अन्तरमा पुगेको छ ।
अंक तालिका
विश्वकप लिग-२ मा २० खेल खेलेको नेपालले १२ अङ्क जोडेको छ । समान खेल खेलेको यूएईको १० अंक छ ।
तालिकामा नेपाल सातौँ स्थानमा छ भने यूएई आठौँ स्थानमा छ ।
२४ खेल खेलिसकेको अमेरिका ३६ अङ्कसहित तालिकाको पहिलो स्थानमा रहेको छ । स्कटल्याण्ड २४ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा छ ।
नेदरल्याण्ड्स २४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा छ । ओमान २० खेलबा६ २४ अंकसहित चौथो, क्यानाडा २४ खेलबाट २१ अंकसहित पाँचौँ तथा नामिबिया २४ खेलबाट १९ अंकसहित छैटौँ स्थानमा छ ।