कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी, छलफल अझै तीन दिन चल्ने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
3k
Shares
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज (बिहीबार) पनि जारी छ। लामो समयदेखि असोज २८ गतेदेखि सुरु भएको यस बैठकमा केन्द्रीय समिति सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम अझै सकिएको छैन।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार केन्द्रीय समितिको बैठक अझै तीन दिन जति चल्नेछ।
बैठकमा सदस्यहरूले विशेष गरी पार्टीको १५औँ महाधिवेशन, राष्ट्रिय निर्वाचन, संसद् पुनःस्थापना लगायतका समसामयिक र राजनीतिक विषयहरूमाथि आफ्ना विचारहरू राखिरहेका छन्।
पौडेलका अनुसार, बैठकमा पार्टीको १५औँ महाधिवेशन, समसामयिक राजनीति लगायत विषयमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ र धारणा राख्ने अधिकांश सदस्यहरूले पार्टीको महाधिवेशनका विषयलाई जोड दिएका छन्।
हिजो (बुधबार) बसेको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुरसहित केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर के.सी., अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, माया राई, सुशीला ढकाल (आचार्य), गंगा शाही र सितादेवी देवकोटाले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।